कैलाली र कञ्चनपुरमा फेरि बढ्दैछ कोरोना संक्रमण
धनगढी, २६ साउन । कैलाली र कञ्चनपुरमा केही दिनदेखि कोभिड–१९ संक्रमण बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
केही दिन पहिलेसम्म प्रदेशभर शून्य संक्रमण रहेकोमा १० दिनदेखि भने कोभिडका विरामी अस्पताल आउनेक्रम बढेको सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले बताए । ‘केही हप्ता अगाडिसम्म आईसियूमा बिरामी थिएनन् । वार्डमा मात्रैै एकदुई जना थिए भने एक हप्ता १० दिनदेखि बिरामीहरुको संख्या बिस्तारै बढ्दैछ’ उनले भने ।
सोमबार सेती प्रादेशिक अस्पतालमा २३ जना कोभिड संक्रमित उपचाररत छन् । जसमध्ये ४ जनाको आइसियूमा र २ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यसै हप्ता अस्पतालमा उपचाररत ३ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा पनि केही दिनदेखि कोभिडका बिरामी आउन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले बताए । ‘संक्रमित भर्ना हुने क्रम बढ्न थालेको छ । अहिले अस्पतालमा ८ जना भर्ना भएका छन् ।’ उनले भने, ‘भाइरल ज्वरोको बिरामी धेरै आइरहेका छन् ।’
सुदूरपश्चिममा स्वाब परीक्षण गर्न आउनेको संख्या समेत बढेको प्रयोगशालाहरुले जनाएका छन् । तर मनसुनको समय भएकोले मौसमका कारण हुने बिरामीहरु जस्तै ज्वरो, टाइफाइट, डेङ्गी, कालाजार, भाइरल ज्वरोसहित कोभिडका बिरामी पनि बढी रहेका चिकित्सकले बताएका छन् ।
कोभिड संक्रमणबाट बच्न खोप अभियान समेत सञ्चालन भइरहेको भएपनि भौतिक दुरी कायम राख्न तथा मास्क प्रयोग गर्न अनिवार्य गरिनुपर्ने जनस्वास्थ्यविद्हरुले सुझाव दिँदै आएका छन्।