चितवनमा ५ महिनापछि झन्डै २७ हजारलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा साउन २८ देखि लगाइने



Download our app to get more features

चितवन, २६ साउन । चितवनमा ५ महिनापछि भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा लगाइँदैछ । 

यहि साउन २८ र २९ गते जिल्लाभर सबै केन्द्रबाट कोभिशिल्डको दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए । 

५ महिनापछि बल्ल दोस्रो मात्रा
तिवारीका अनुसार गत फागुन २३ देखि चैत १ गतेसम्म जिल्लामा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकहरू र अन्य लक्षित वर्गलाई दोस्रो मात्रा लगाउन लागिएको हो । बाहिरी जिल्लामा पहिलो मात्रा लगाएर आएका समेतगरी जिल्लाभर कोभिशिल्डको दोस्रो मात्रा लगाउन झन्डै २७ हजार हाराहारी बाँकी रहेको उनले जानकारी दिए । उनीहरू सबैलाई अब दोस्रो मात्रा दिनलागिएको हो ।

खोप लगाउन जाँदा यस्ता कुरामा ध्यान दिनुस्ः
आ–आफ्नो स्थानीय वडामा रहेका स्वास्थ्य संस्था एवम् खोप केन्द्रमा गई निर्धारित मितिमा दोस्रो मात्रा खोप लगाउन प्रमुख तिवारीले सबै सर्वसाधारणमा अनुरोध गरेका छन् । खोप सेवा लिन जाँदा पहिलो मात्रा लगाएको खोप कार्ड, परिचय पत्र र जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न समेत उनले सबैमा आग्रह गरेका छन् ।

‘कोभिशिल्ड’ र ‘एस्ट्राजेनेका’ खोप एकै हो ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा पर्खिरहेकालाई सोमबारबाट एस्ट्राजेनेका दोस्रो मात्रा खोप लगाउन थालेको हो । गत फागुन र चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी झन्डै १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको एस्ट्राजेनेकाको खोप लगाउन लागिएको हो । यसअघि अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो । विज्ञहरूका अनुसार ‘कोभिशिल्ड’ र ‘एस्ट्राजेनेका’ को खोप एकै हुन् । अन्योलमा नपर्न र ढुक्क भएर दोस्रो मात्रा लगाउन समेत विज्ञहरूले सबैमा अनुरोध गरेका छन् ।

दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारतले खरिद गरेको खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा लगाउन ढिलाई भएको हो । यसअघि खोपको पहिलो मात्रा लगाइसकेका सर्वसाधारणमा दोस्रो मात्रा लगाउने कुरा सुनिश्चित हुन नसक्दा एककिसिमको मानसिक चिन्ता परेको थियो ।

खोपलाई निरन्तरता
चितवनमा आइतबारदेखि मंगलबारसम्म जिल्लाभर सबै केन्द्रबाट भेरोसिलको दोस्रो मात्रा सञ्चालन भैरहेको छ । आवश्यकता अनुसार एकदिन थपघट गर्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत साउन १ देखि ४ गतेसम्म जिल्लामा भेरोसिल खोपको पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका ४२ हजारभन्दा बढीलाई दोस्रो मात्रा लगाउन लागिएको हो ।

Last modified on 2021-08-10 16:11:31

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts