चितवनमा कोरोनाको जोखिम बढेको भन्दै आजदेखि फेरि निषेधाज्ञामा कडाइ

पसलहरू सातामा १८ घण्टामात्रै खुल्ने, सवारी साधनमा जोरबिजोर लागू



Download our app to get more features

चितवन, २५ साउन । कोरोना संक्रमणदर बढेसँगै जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञालाई फेरि आजदेखि थप कडाइ गरेको छ । 

जिल्लामा नयाँ भेरियन्ट सहित कोरोनाको उच्च जोखिम रहेको र संक्रमणदर समेत दैनिक बढ्दो क्रममा रहेको भन्दै यसको रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञालाई थप कडाइ गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जनाएका छन् । जारी निषेधाज्ञा आजबाट लागु हुने गरी साउन ३२ गतेसम्म थप कडाइ गरिएको हो ।

खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा, मासु, अण्डा, चल्ला, दाना खान पकाउने ग्याँस पसल, एग्रोभेट, बीउबिजन, रासायनिक मल र भेटेनरी औषधि पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने प्रशासनले जनाएको छ । त्यस्तै, दूध डेरीको हकमा भने बेलुका ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाइने छ ।

यस्तै, अन्य पसलहरु सातामा १८ घण्टामात्रै सञ्चालन गर्न पाइने छ । आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनको जनाएको छ ।

यसैगरी, निजी तथा सार्वजनिक सवारी साधनको हकमा भने जोरबिजोर लागू गरिएको छ । जसअनुसार जोर गते जोर नम्बर र बिजोर गरे विजोर नम्बर भएका सवारी साधन मात्रै सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

यस्तै, खाजा पसल, रेष्टुरेन्ट तथा मिठाई पसलको हकमा भने दैनिक मध्यान्ह १२ देखि साँझ ६ बजेसम्म मात्र खोल्न पाइने प्रशासनले जनाएको छ ।

जिल्लामा अहिले दैनिक संक्रमणदर उकालो लाग्दै गएको छ । आइतवार दिउँसोसम्म जिल्लाभर सक्रिय संक्रमितको संख्या २ हजार ३ सय २७ रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा १ हजार ५ सय ५६ जना छन् । त्यस्तै, सबैभन्दा कम सक्रिय संक्रमित रहेका जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामनामा भने २० जना मात्र छन्।

जिल्लाका सक्रिय संक्रमित मध्ये २ हजार १ सय २८ जना होम आइसोलेसन, १ सय ८८ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् भने ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कुल संक्रमितको संख्या २२ हजार नजिक
आइतवार दिउँसोसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या २१ हजार ८ सय ३४ पुगेको छ । संक्रमित हुनेमा ११ हजार ९ सय जना पुरूष र ९ हजार ९ सय २८ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म १९ हजार १ सय ५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ३ सय ४९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ सय २१ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । बाँकी एकसय २८ जना जिल्लाका अन्य पालिकाका रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमित मध्ये ९६ जना आईसीयूमा
चितवनमा अन्य जिल्लाका समेत गरी कोरोना संक्रमित मध्ये ९६ जनाको आईसीयूमा उपचार चल्दैछ ।

स्वास्थ्य कार्यालयका अनुसार आइतवार दिउँसोसम्म यहाँका तीन ठुला अस्पतालमा र अन्य साना अस्पतालमा समेतगरी २ सय ६० जना संक्रमित उपचाररत् रहेको जनाएको छ । ती मध्ये एकसय ९६ जना संक्रमितको आईसीयू र ३२ जनाको भन्टिलेटरमा उपचार भईरहेको जनाएको छ । 

कस्ता सावधानी अपनाउने ?
जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम पूर्णरूपमा पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।

यस्तो छ, जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको आदेशः

Last modified on 2021-08-09 17:25:52

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts