कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई आजबाट दोस्रो मात्रा लगाइँदै



Download our app to get more features

काठमाडौं, २५ साउन । सरकारले आजदेखि कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाउँदै छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा पर्खिरहेकालाई आजबाट एस्ट्राजेनका दोस्रो मात्रा खोप लगाउने भएको हो । 

गत चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी करिब १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको एस्ट्राजेनकाको खोप लगाउन लागिएको हो ।

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो । 

दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारतले खरिद गरेको खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाई भएको हो ।
 
सरकारले दोस्रो मात्रा लगाउन बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।

यस्तै सरकारले मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई एस्ट्राजेनका खोप दिने प्राथमिकता राख्ने निर्णय गरेको छ ।

खोप लगाउन काठमाडौं जिल्लामा मात्र १ सय ४४ वटा खोप केन्द्र तोकिएको छ । 

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लक्षित समूहलाई लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

हालसम्म नेपालमा १८ लाख ६८ हजार ४ सय २५ जनाले कोभिशिल्डको पहिलो मात्रा लगाइसकेका छन् । जसमा ५ लाख २४ हजार ६ सय ५९ जनाले मात्रै दोस्रो मात्रा लगाउन पाएका छन् । 

Last modified on 2021-08-09 10:24:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts