रुकुम पश्चिमको चौरजहारीमा अक्सिजन उत्पादन सुरु
रुकुम पूर्व , २४ साउन । रुकुम पश्चिमको चौरजहारी अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको हो। चौरजहारी नगरपालिका–१ मा रहेको अस्पतालमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको हो।
नगरपालिकाको एक करोड १० लाख रुपैयाँमा प्लान्ट जडान भएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए। जसमध्ये साढे २ लाख लगानी अस्पतालले गरेको छ।
प्लान्टले दैनिक ३२ देखि ३६ वटासम्म ४० लिटरका सिलिन्डर भर्न सकिने जनाइएको छ। रुकुमपूर्व, पश्चिम, सल्यान, जाजरकोटलगायत छिमेकी जिल्लालाई लक्षित प्लान्ट जडान गरिएको हो।
विद्युत आपूर्ति नियमित नहुँदा हाल जेनेरेटरको सहायताले प्लान्टबाट अक्सिजन उत्पादन भइरहेको छ। नगरप्रमुख विशाल शर्माले जाजरकोटस्थित कुदु सव–स्टेशनबाट नियमित विद्युत् आपूर्ति गर्ने गरी पहल अघि बढाउने गराए।