चितवनमा आजदेखि ४२ हजारभन्दा बढीलाई भेरोसेलेको दोस्रो मात्रा लगाइँदै



Download our app to get more features

चितवन, २४ साउन । चितवनमा आजदेखि चिनियाँ कम्पनीको  कोरोनाविरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । 

आजदेखि मंगलबारसम्म जिल्लाभरका सबै केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिन लागिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए ।

आवश्यकता अनुसार एकदिन थपघट गर्न सकिने उनले बताए ।

उनका अनुसार गत साउन १ देखि ४ गतेसम्म जिल्लामा भेरोसिल खोपको पहिलो मात्रा लगाएको २१ दिन पूरा भएकाहरूलाई दोस्रो डोज लगाउन लागिएको हो ।

जिल्लाभर साउन १ देखि ४ गतेसम्म ४२ हजार ५ सय ५८ जनाले भेरोसेलको पहिलो डोज लगाएका थिए ।

यसैगरी गत साउन ११ गतेदेखि १४ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई भने अब भदौ १ देखि ३ गतेसम्म दोस्रो मात्रा दिईने तिवारीले बताए । त्यति बेला जिल्लाभर २५ हजार ६ सय ६० जनालाई भेरोसेलको दोस्रो मात्रा दिईने छ ।

दोस्रो मात्राको खोप सेवा लिन जाँदा पहिलो मात्रा लगाएको खोप कार्ड, परिचय पत्र र जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न स्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ ।

त्यस्तै, जिल्लामा खोप अभियान अन्तर्गत साउन १४ गतेदेखि सञ्चालन भएको एक डोज मात्रै लगाए हुने जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप ‘ज्यान्सिन’ ३६ हजार ८ सय ५३ जनालाई लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ५० देखि ५४ वर्ष उमेरसमूहलाई यो खोप लगाइएको छ । 

त्यस्तै, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिक, नेपालमा रहेका शरणार्थी र सरसफाइकर्मी पनि यसपटक लक्षित वर्गमा थिए ।

त्यसबाहेक जोन्सन एन्ड जोन्सन खोप अनिवार्य गरिएका राष्ट्रहरूमा जाने व्यक्तिहरूले पनि राहदानी र प्रवेशाज्ञाको प्रमाण देखाएर उक्त खोप लगाइएको छ ।

त्यस्तैगरी स्वास्थ्य संस्थामा कार्यरत यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलाई समेत यो खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यसअघि जिल्लामा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र चिनियाँ खोप भेरोसिल विभिन्न उमेरसमूह र क्षेत्रका आधारमा लगाइसकिएको छ ।

कोरोना नियन्त्रणको लागि जिल्लामा खोपलाई तीव्रता दिइएको छ ।

Last modified on 2021-08-08 10:16:10

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts