धनगढीमा २२ करोडको लागतमा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माण हुँदै



Download our app to get more features

धनगढी, २३ साउन । धनगढीमा कोरोना भाइरसको रोकथामका लागि होल्डिङ सेन्टर निर्माणको कामले तिव्रता पाएको छ। संघीय सरकारको २८ करोड ८१ लाखको लागतमा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माणको कामले तिव्रता पाएको हो ।

उपमहानगरपालिको वडा नम्बर ३ मा रहेको प्रगती सामुदायिक वनको डेढ विघा क्षेत्रफलमा होल्डिङ सेन्टर निर्माण भइरहेको हो। कैलालीको तेघरीस्थित नेपाली सेनाको भवानीदल गणले होल्डिङ सेन्टरको निर्माणको जिम्मा पाएको थियो । सेनाले गत असार ३ गते हनुमान कन्स्ट्रक्सनसँग निर्माणको ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनका इन्जिनियर विक्रमकुमार शाक्यले ५० प्रतिशत काम पूरा भइसकेको बताए । 

उनका अनुसार होल्डिङ सेन्टरमा ५९ वटा ब्लकहरू निर्माण भइरहेका छन् भने हरेक शय्यामा अक्सिजन आपूर्ति गर्ने उपकरणहरू जडान गरिनेछ । भारतबाट आएका सबैलाई होल्डिङ सेन्टरमा राखेर कोरोना जाँच गरेपछि मात्र घर पठाउने योजना रहेको सुदूरपश्चिमका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले बताए । ‘परीक्षण गराएर संक्रमितको आवश्यकताअनुसार कोभिड अस्पतालमा उपचार गर्ने र संक्रमण नदेखिएकाहरूलाई मात्र गाउँ जाने व्यवस्था मिलाउँछौं,’ उनले भने । 

कोरोना भाइरसको दोस्रो लहर महामारीका रुपमा फैलिएपछि संघीय सरकारले देशभरीका मुख्य सीमा नाकाहरुमा होल्डिङ सेन्टर निर्माण गर्ने योजना ल्याएको थियो । पहिलो र दोस्रो लहरको कोरोनाको संक्रमण भारतबाट नै नेपालमा बढी फैलिएका कारण सिमानाकाको २ किलोमिटर आसपासमा होल्डिङ सेन्टर निर्माणको काम अघि बढाउने निर्णय भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts