मुलुकभर कोरोना संक्रमणदर बढेसँगै देशका अस्पतालमा कस्तो छ बिरामीको चाप ?
काठमाडौं, २३ साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर बढिरहेको छ । नेपालमा हालसम्म ३९ लाख बढीको कोरोना परीक्षण भइसकेको छ । दैनिक आउने कोरोना संक्रमणको तथ्याङ्कमा संक्रमितको संख्या बढिरहेको छ ।
पछिल्लो एकसातादेखि शुक्रराज अस्पतालमा पनि कोरोना बिरामीको संख्या बढिरहेको छ । अस्पतामा कोरोना बिरामीको लागि छुट्याएको बेडहरु भरिएका छन् । अस्पतालका निर्देशक डा.अनुप बास्तोलाका अनुसार अस्पतालमा रहेको ९२ वटा बेडहरु भरिसकेका छन् ।
देशभर कोरोना संक्रमणको दर बढेसँगै अस्पतालमा भर्ना हुने गम्भीर बिरामी त्यसमा पनि लक्षणसहितका बिरामी आउन थालेको उनको भनाइ छ ।
उता कोशी अञ्चल अस्पताल पनि कोरोना बिरामीले भरिएको छ । दैनिक रुपमा कोरोना परीक्षण गरेका २५ प्रतिशत भन्दा बढीमा कोरोना पोजेटिभ देखिने गरेको अस्पतालका मेसु डा. चुमनलाल दासले बताए ।
उनका अनुसार अस्पतालमा बिगत ३÷४ हप्तादेखि कोरोना संक्रमितको संख्या केहि मात्रामा बढेपनि १०÷१२ दिनदेखि अस्पतालका बेडहरु संक्रमित बिरामीले भरिएका छन् ।
यसरी संक्रमण बढ्नुमा दोस्रो लहर शून्य नहुँदै सरकारले निषेधाज्ञा खोल्नु प्रमुख कारण रहेको डा. दासको भनाइ छ । उनले स्वास्थ्य मापदण्ड पुरा गरेर नहिँड्दा पनि पछिल्लो समय कोरोना संक्रमण बढेको डा दास बताउछन् ।
त्यसैगरी सुदूरपश्चिमस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको संख्या स्थिर रहेको छ । सेती अस्पतालको सुचना अधिकारी दिलिप श्रेष्ठ अहिले अस्पतालमा कोरोना संक्रमितको संख्या स्थिर रहेको बताउँछन् । अषाढमा घटेको संक्रमणदर साउनमा भने केहि मात्रामा बढेको भन्दै उनले पछिल्लो समय नागरिकहरु नै कोरोना चेकजााच गर्न नआउने भएकाले पनि संक्रमणदर स्थिर रहेको बताए ।
तर, नारायणी अस्पतालमा भने कोरोना संक्रमित गम्भीर बिरामी बढेको छैन । अस्पतालका कोभिड संयोजक डा. उदय सिंहले पछिल्लो समय दैनिक ७० देखि ८० पिसिआर परीक्षण गर्दा २ देखि ३ जनालाई मात्र कोरोना देखिएको उनी बताउछन् ।
यी अस्पताल मात्रै होइन बाँकेको भेरी, रुपन्देहीको कोरोना अस्थायी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत लगायत विभिन्न अस्पतालहरुमा पछिल्लो समय कोरोनाका गम्भीर बिरामी भर्ना हुने क्रम बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरका १४ जिल्लाहरुमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २० जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
कोरोनाको दोस्रो लहर साम्य नहुँदै संक्रमण दर उकालो लाग्दै जाँदा सरकारले भने आवश्यक जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न पनि बारम्बार आग्रह गर्दै आएको छ ।