नेपाल मास्क अभियान आजबाट सुरु हुँदै
काठमाडौं, २३ साउन । सरकारले आजदेखि नेपाल मास्क अभियान सुरु गर्दैछ ।
दिउँसो १ बजे जुममार्फत भर्चुअल कार्यक्रम गरेर अभियानको शुभारम्भ गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणको रोकथामका लागि मास्कको महत्त्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गर्न गरिएको हो ।
कोरोना संक्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा जनचेतनामुलक कार्यक्रम गरिने स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।
‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु, म जिम्मेवार नेपाली’ भन्ने नाराका साथ सुरु हुने अभियान शुक्रबारसम्म चल्नेछ ।
सरकारले मास्क अभियान सञ्चालनका लागि सात वटै प्रदेशलाई पनि पत्र पठाइसकेको छ ।