थप ३७ सय २९ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
काठमाडौं, २२ साउन । १५ हजार ६७५ नमूना परीक्षण गराउँदा ३७ सय२९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा ९ हजार ४९३ नमूनाको पीसीआर र ६ हजार १८२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो।
जसमध्ये २४ सय ३० नमूनाको पीसीआरबाट र १२सय ९९ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा १८ सय ८५ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप २५ जनाको ज्यान गएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेको छ। यस्तै, ७३२ जनाको आइसीयूमा र १५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
होम आइसोलेसनमा ३१ हजार ४२७ जना र संस्थागत आइसोलेसनमा ३५ सय १५ जनाको उपचार भइरहेको भने ३५६ जना क्वारेन्टाइनमा छन्।