नुवाकोटमा साउन मसान्तसम्म निषेधाज्ञा लम्बियो
नुवाकोट, २० साउन । नुवाकोटमा आगामी साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
बुधबार जारी आदेशमा साउन २० गतेदेखि साउन ३२ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए ।
निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।
यस्तै खुला स्थानमा मानिसको भेला जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभत्तेर आदि गर्न पाइनेछैन ।
यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाइएने आदेशमा उल्लेख छ ।
नुवाकोटमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ सय १३ पुगेको छ भने जिल्लामा कुल कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ३ पुगेको छ ।
नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ४१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।