कास्कीमा साउन २७ गतेसम्म लम्बियो निषेधाज्ञा
पोखरा, १९ साउन । कास्कीमा साउन २७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा अवधिलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ । जारी गरिएको निषेधाज्ञा साउन २७ गते राती ११ बजेसम्म लागू हुनेछ ।
कास्की प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदर बढ्दै गएकोले यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई साउन २७ गतेसम्म निरन्तरता दिएको जनाएको हो । यसअघि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि साउन २० गतेसम्म थप गरिएको थियो ।
निषेधाज्ञामा कास्की जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको छ भने लामो दुरीका सवारी साधन सम्बन्धित संघ सस्थाको सिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरि संचालन गर्न पाइनेछ ।