के कोरोना संक्रमितको आसुबाट पनि फैलन सक्छ कोरोना भाइरस ?
ऐजेन्सी,१९ साउन । कोरोना संक्रमित व्यक्तिको आँसुबाट पनि कोरोना भाइरसको संक्रमण फैलने खतरा रहेको एक अनुसन्धानले दाबि गरेको छ । भारतको अमृतसरको सरकारी मेडिकल कलेजले गरेको एक अनुसन्धानले यस्तो दाबी गरेको हो ।
यो अनुसन्धान डा. प्रेमपाल कौर, डा.गौरांग सहगल, डा. शैलप्रित, केडी सिंह र भावकरण सिंहले गरेका हुन् । यो अनुसन्धानका लागि बिरामीको आरटी–पीसीआर रिपोर्ट आउनु ४८ घण्टा भित्र आँसुको नमूना लिइएको थियो ।
अनुसन्धानका अनुसार अक्युलर मेनिफेस्टेशन भएका रोगीको आँसु कोरोना संक्रमणको सम्भावित कारण हुनसक्छ । अक्युलर मेनिफेस्टेशन त्यो लक्षण हो जसले शरीरमा देखिएको कुनै रोगका कारण आँखामा असर पार्छ ।
अमृतसरको सरकारी मेडिकल कलेजले कोरोनाका १२० बिरामीमा यो अनुसन्धान गरेको थियो । रिपोर्टमा पत्ता लागे अनुसार ६० बिरामीमा आँसुमार्फत् भाइरस शरीरको अन्य अंगहरुमा पुग्यो । तर ६० बिरामीमा भने यस्तो देखिएन । ४१ बिरामीमा कन्जक्टिवल हाइपरमिया, ३८ मा फोलिक्युलर रियाक्सन, ३५ मा केमोसिस, २० बिरामीमा म्युकोइड डिस्चार्ज र ११ लाई चिलाउने समस्या देखिएको थियो ।
त्यसैगरी अक्युलर मेनिफेस्टेशन भएका लगभग ३७ प्रतिशत बिरामीमा कोरोना भाइरसको आंशिक लक्षण देखियो । अन्य ६३ प्रतिशतमा संक्रमणको गम्भीर लक्षण देखिएको थियो ।
रिपोर्टका अनुसार कोरोनाद्वारा संक्रमित बिरामीको आँसु उनीहरुको हेरविचारमा लागेका स्वास्थ्यकर्मीका लागि संक्रमणको स्रोत हुनसक्ने बताएको छ । त्यसैले स्वास्थ्यकर्मी र आँखाका डाक्टरका लागि अत्यधिक सावधानी अपनाउन सल्लाह दिइएको छ । ।