डा. गौतमलाई सरुवा गरेकामा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको आपत्ति



Download our app to get more features

हेटौंडा , १९ साउन । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हटाएकोप्रति बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आपत्ति जनाएका छन् ।

आज बिहान मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको नयाँ भवनको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले डा. गौतमलाई वीर अस्पतालबाट हटाएर सरकारले काम गर्न नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् । कोरोना नियन्त्रणमा महत्वपुर्ण भूमिका निर्वाह गरेका डा.गौतमलाई वीर अस्पतालबाट प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरेर सरकारले गौतमलाई काम गर्ने वातावरण नदिएको पौडेलले बताए । उनले काम गर्नेलाई सरकारले प्रोत्साहन गर्नुपर्ने भएपनि गौतमलाई सरुवा गरेर निरुत्साहन गरेको भन्दै असन्तुष्टि जनाए ।

मुख्यमन्त्रीले गौतमलाई सरुवा गरेर वर्तमान देउवा नेतृत्वको सरकारको लक्षण राम्रो नदेखाएको टिप्पणी गरे । ‘सरकारले के नियतले डा.गौतमको सरुवा गर्यो, त्यो त मलाई थाहा छैन । तर एउटा काम गर्ने मान्छेलाई सरुवा गरेर सरकारले राम्रो लक्षण देखाएन,’ पौडेलले भने ।

उनले ओली नेतृत्वको सरकारले एक करोड ३६ लाख डोज खोप सुनिश्चित गरिसकेको भन्दै सबै नागरिकलाई खोप लगाउन वर्तमान सरकारलाई शुभकामना समेत दिए । पौडेलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्तिकारी आमुल परिवर्तनको थालनी गरेको बताए । उनले सरकारले प्रदेशको विभिन्न अस्पतालमा पाँचसय शय्या विस्तार गरेको भन्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापक परिवर्तन गरेको दावी गरे ।

अस्पतालमा २२ करोड ८६ लाख ३१ हजार तीनसय ६६ रुपैयाँ लागतमा २ सय शय्याको नयाँ भवन निर्माणको शिलान्यास गरिएको छ । सो भवन २०८० सालसम्म निर्माण गरिसक्ने सरकारको लक्ष्य छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts