नागरिकलाई तत्काल खोप उपलब्ध गराउन कांग्रेस नेता सिंहको माग
काठमाडौं, १६ साउन । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै नागरिकलाई कोभिशिल्डको दोस्रो डोज खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन नपाएकाहरुले चर्को गुनासो गरिरहेका बेला उनले त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। शनिबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कोभिशिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो पूरा गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।
‘जनताले मलाई जनप्रतिनिधि भएको नाताले दोस्रो डोज खोप पाउन सकिएन नि, तपाईंले आवाज उठाई दिनु पर्यो भन्छन्। जनताका ती जायज माग हुन्‚’ उनले भने, ‘सरकारले कोभिशिल्डको दोस्रो डोजबाट बञ्चित भएका सबैलाई त्यसको व्यवस्था गर्न ध्यान दिनु पर्दछ।’
नेता सिंहले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई पुर्याउन सरकारले प्राथमिकता दिए पनि सोहीअनुसारको काम गर्न नसकेको गुनासो समेत गरे। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाटै आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप भनेको स्मरण गराउँदै उनले सोहीअनुसारको काम गरेर देखाउन आग्रह गरे।
‘प्रधानमन्त्रीज्यूले संसदमा समेत आफ्नो पहिलो प्राथमिकता पनि खोप हो। दोस्रो प्राथमिकता पनि खोप हो। तेस्रो प्राथमिकता पनि खोप हो भन्नुभएको छ‚’ उनले भने‚ ’अब त्यहीअनुसारको कदम चाल्नु पर्यो नि। कामबाटै उहाँले गर्नुभएको प्रतिवद्धता पूरा गरेर देखाउन पनि ध्यानाकर्षण गराउन चाहन्छु।’