तारकेश्वरको साङला प्राथमिक स्वास्थ्य केन्द्रमा डायलासिस सेवा सुरु हुँदै
काठमाडौं, १६ साउन । काठमाडौंको तारकेश्वर नगरपालिकाले साङला प्राथमिक स्वास्थ्य केन्द्रमा मिर्गाैला पीडितहरुका लागि हेमोडायलासिस सेवा सञ्चालनमा ल्याउने भएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच राष्ट्रिय मिर्गाैला उपचार केन्द्र वनस्थली र तारकेश्वर नगरपालिकाले एम.ओ.ई. मा हस्ताक्षर गरेका हुन् ।
राष्ट्रिय मिर्गाैला उपचार केन्द्रका निर्देशक डा. ऋषि कुमार काफ्ले लगायतको टिम तारकेश्वर नगरपालिकाको कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा नगरपालिकाका मेयर रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, सूचना अधिकारी होमनाथ न्यौपाने, नगर स्वास्थ्य शाखाका कर्मचारीहरुको उपस्थिति रहेको स्वास्थ्य शाखाका कर्मचारी कल्याण लामिछानेले जानकारी दिए ।
हेमोडायलासिस सेवा सञ्चालनका लागि विगत ६ वर्षदेखि प्रयासरत रहेको सामाजिक अभियान्ता ध्रुब राज खड्काले बताए ।
नगर प्रमुख बोहोराले साङ्ला डायलासीस सेन्टरमा नगरवासी र छिमेकी नगरपालिका, नुवाकोट र रसुवा जिल्लाका नागरिकहरुले पनि डाइलासिस सेवा लिन पाउने बताए । डाइलासीस सेन्टर दशैं तिहारको आसपासदेखि सञ्चालनमा ल्याउने बताइएको छ ।
आवश्यक सामान व्यव्स्थापन र स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम दिने कार्य पश्चात डायलासीस सेन्टर सञ्चालनमा आउनेछ ।
तारकेश्वर नगरपालिकाले १ लाखभन्दा बढि नागरिकहरुलाई आफ्नो किड्नीको अवस्था परीक्षणको लागि आफ्नै वडाको स्वास्थ्य केन्द्रहरुमा व्यवस्था मिलाउन लागेको मेयर बोहोराले बताए ।
त्यस्तै स्वयंसेवीका मार्फत घरदैलो अभियान सञ्चालन गरेर “मिर्गौला बचाउँ” लेखिएको प्लेकार्ड बोकेर जनताको घरघरमा पुगेर जनचेतनामूलक कार्यक्रम गर्ने नगरपालिकाले बताएको छ ।
राष्ट्रिय मृगौला उपचार केन्द्रले मृगौला पीडित बिरामीहरुको लागि डाइलासीस सेन्टर सञ्चालन र आवश्यक स्वास्थ्यकर्मीहरुलाई तालिम व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।