कोरोना महामारीको जोखिम बढेको भन्दै पुनः स्मार्ट लकडाउन गर्न सीसीएमसीमा स्वास्थ्यको प्रस्ताव
काठमाडौं, १६ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको जोखिम बढ्दै गएकाले पुनः स्मार्ट लकडाउन गर्न प्रस्ताव गरेको छ ।
शुक्रवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा मन्त्रालयले कोरोना संक्रमणको दर दैनिक बढ्न थालेको र अस्पताल भर्ना हुने गम्भीर बिरामीको संख्या पनि बढ्दै गएकाले पुनः स्मार्ट लकडाउनको प्रस्ताव गरेको हो ।
सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले कोरोना सङ्क्रमण बढ्दै गएको परिस्थितिमा पुनः ‘स्मार्ट लकडाउन’ मा जानुपर्ने प्रस्ताव आएपनि त्यस सम्बन्धमा कुनै निर्णय नभएको बताए ।
उनका अनुसार, मुलुकभर एकै खालको बन्दाबन्दी नगरी सङ्क्रमणका आधारमा क्षेत्र विभाजन गरी स्मार्ट बन्दाबन्दीमा जानुपर्ने सुझाव प्राप्त भएको छ । सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले प्रभावित स्थानमा मात्र ‘स्मार्ट लकडाउन’ गर्न सक्ने भएका छन् । सो अवधारणाअनुसार एमसीसीको बैठकले टुङ्गो लगाइने प्रवक्ता खतिवडाले जानकारी दिए ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न निर्देशन दिएका छन् । सीसीएमसीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री देउवाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन निर्देशन दिएका हुन् ।
कतिपय मुलुकमा कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन आवश्यक भएको सीसीएमसीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री देउवाले जोड दिए ।
सहसचिव तथा सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले केही दिनबाट नै खोप प्रमाणीकरण कार्डमा क्यूआर कोड प्रयोगमा ल्याइने जानकारी दिए । विदेश जाने श्रमिकले टेकुसहितका चार अस्पतालबाट कोरोनाको खोप प्रमाणीकरण कार्ड लिइरहेका छन् ।