भीमफेदी कारागारमा ३५५ कैदीबन्दीमा कोरोना संक्रमण
हेटौंडा, १५ साउन । क्षेत्रीय कारागारका रुपमा विकास गरिएको मकवानपुरस्थित भीमफेदी गाउँपालिकामा रहेको भीमफेदी कारागारमा रहेका कैदीबन्दीहरुमा कोरोना पुष्टि भएको छ ।
कारागारको ब्लक ‘क’ र ब्लक ‘ख’ मा गरी ९ सय ६८ कैदीबन्दी र ८ कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको भीमफेदी गाउँपालिका स्वास्थ्य संयोजक रामनाम थिङले जानकारी दिए । संक्रमण पुष्टि हुनेको संख्या कारागारका कैदीबन्दीको तीस प्रतिशत्भन्दा बढी हो ।
कोरोना पोजेटीभ देखिएका कैदीबन्दीहरुलाई स्वास्थ्य सावधानी अपनाएर अलग राखिएको बताइएको छ । कारागारमा रहेका अधिकांश कैदीबन्दीलाई कोरोना खोप कोभिसिल्ड लगाइसकिए पनि खोप लगाएका तथा नलगाएका दुबैलाई कोरोना पोजेटिभ देखिएको हो ।
बुधबार र बिहीबार गरिएको परीक्षणमा कैदीबन्दीमा कोरोना पुष्टि भएको उनले बताए । कैदीहरुलाई उक्त कारागारबाट अर्को कारागारमा स्थानान्तरण गर्ने क्रममा भीमफेदीबाट काठमाडौं स्थानान्तरण गरिएका १५ मध्ये ५ कैदीमा कोरोना पुष्टि भएको जानकारीपछि भीमफेदी कारागारका सम्पूर्ण कैदीबन्दीमा कोरोना परीक्षण गरिएको थियो ।
पुष्टि भएका संक्रमितहरुमा हाल लक्षण नदेखिए पनि पुष्टि भएका संक्रमितहरुलाई कारागारभित्र अलग आइसोलेसनमा राखिएको उनले बताए ।
हाल कोरोना पुष्टि भएकाहरुलाई केही समयअघि नै रुघाखोकी र ज्वरोलगायत लक्षण देखिए पनि कारागारले चासो दिएको थिएन ।