प्रदेश १ मा १ लाख १२ हजारभन्दा बढीमा संक्रमण
काठमाडौं, १५ साउन । प्रदेश १ मा हालसम्ममा १ लाख १२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ। पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित संख्या १ लाख १२ हजार ६ सय ७१ पुगेको सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले जानकारी दिइन्। उनका अनुसार पछिल्लो केही दिनयता प्रदेशमा दैनिक १ हजारभन्दा बढी संक्रमित थपिने गरेका छन्।
प्रदेशमा बिहीबार मात्रै १ हजार १ सय ४ जनामा संक्रमण पुष्टि भएको राजवंशीको भनाइ छ। उनका अनुसार १ हजार ७ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ५२ र १ हजार ३ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ५२ जनामा संक्रमण देखिएको हो। संक्रमण पुष्टि भएकामध्ये झण्डै आधा झापाका छन्। बिहीबार झापामा ३ सय ७ जना संक्रमित थपिएका छन्।
त्यसबाहेक सुनसरीमा १ सय ७७, मोरङमा १ सय २३, धनकुटामा १४, इलाममा ९, संखुवासभा, तेह्रथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा कोरोना संक्रमण देखिएको छ।
प्रदेशमा हालसम्म ३ लाख ८१ हजार ९ सय ५ जनाको पीसीआर परीक्षण गरिएकोमा ८३ हजार ९ सय ७६ को रिपोर्ट पोजिटिभ आएको हो। १ लाख ७७ हजार जनाको एन्टिजेन परीक्षण गर्दा २८ हजार ६ सय ९५ जनामा संक्रमण पुष्टि भएको राजवंशीको भनाइ छ। उनका अनुसार प्रदेश १ भित्र आएर परीक्षण गराएकामध्ये रिपोर्ट पोजिटिभ आउनेमा ८ सय ९९ महिला र २ हजार १ सय ९४ पुरुष प्रदेश १ बाहिरका छन्।
सामाजिक विकास मन्त्रालयका कोभिड–१९ तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. रवीन्द्र निरौलाका अनुसार प्रदेशमा हालसम्म पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएकामध्ये ७४ हजार ६ सय ६६ जना उपचारपछि निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किसकेका छन्।
प्रदेश १ मा बिहीबार ३ सय ८२ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ७६ महिला र २ सय ६ जना पुरुष रहेको डा. निरौलाले बताए। उनका अनुसार हालसम्म प्रदेशभित्र ४ सय ९४ महिला र १ हजार ७५ पुरुष गरेर १ हजार ५ सय ६९ जना संक्रमितको मृत्यु भइसकेको छ। मृत्यु हुनेमध्ये १ सय ४८ जना प्रदेश १ बाहिरका रहेको जानकारी निरौलाले दिए।
उनका अनुसार प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेका छन्। डा। निरौलाले स्थानीय प्रशासन र स्थानीय सरकारले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेपछि कोरोना संक्रमण बढ्न थालेको जानकारी दिए। ‘पछिल्लो समय जताततै स्वास्थ्य मापदण्डको उल्लंघन र लापरबाही बढेको छ,’ उनले भने, ‘सम्बन्धित निकायले पनि कोरोना फैलन नदिन उचित निर्णय लिनसकेको देखिएन।’
महामारीले अवस्था थप भयावह बन्ने देखिएको बताउँदै डा। निरौलाले लापरबाही नगर्न, स्वास्थ्य मापदण्डको पालना गर्न, उच्च सतर्कतना अपनाउन तथा कोरोनालाई सामान्य नठान्न सबैमा आग्रह गरेका छन्। कोरोनाविरुद्धको खोप लगाउने स्थानमा देखिएको अस्वभाविक भीडभाडले पनि संक्रमणको जोखिम अत्याधिक बढाएको उनको भनाइ छ।