चितवनमा बिहीबार १५ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप ‘ज्यान्सिन’
चितवन, १५ साउन । कोरोना नियन्त्रणको लागि जिल्लामा कोरोनाविरुद्धको खोपलाई तीव्रता दिइएको छ । जसअन्तर्गत बिहीबारदेखि एक डोज मात्रै लगाए हुने जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप ‘ज्यान्सिन’ लगाउन सुरू गरिएको छ ।
पहिलो दिन बिहीबार जिल्लाभर १५ हजार २ सय २८ जनालाई सो खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख अमृत महर्जनले जानकारी दिए । जसमा ८ हजार ३१ जना पुरूष र ७ हजार १ सय ९७ जना महिलाले सो खोप लगाएको उनले बताए । ‘ज्यान्सिन’ खोप पहिलो चरणमा जिल्लामा ३६ हजार ५ सय डोज खोप प्राप्त भएको उनले जानकारी दिए ।
उनले स्थानीय पालिकाले आफ्नो खोप तालिका तयार पारी सोही अनुसार सञ्चालन गरिएको बताए । उनका अनुसार ५० देखि ५४ वर्ष उमेरसमूहलाई यो खोप लगाइएको छ । त्यस्तै पूर्ण र अति अशक्त अपाङ्गता ९वर्ग क र ख० भएका नागरिक, नेपालमा रहेका शरणार्थी र सरसफाइकर्मीलाई पनि यो खोप लगाइएको छ ।
त्यस बाहेक जोन्सन एन्ड जोन्सन खोप अनिवार्य गरिएका राष्ट्रहरूमा जाने व्यक्तिहरूले पनि राहदानी र प्रवेशाज्ञाको प्रमाण देखाएर उक्त खोप लगाइएको उनले बताए । त्यस्तैगरी स्वास्थ्य संस्था कार्यरत यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीले समेत यो खोप लगाइएका छन् । खोप कार्यक्रम आज पनि चल्ने छ ।
भरतपुर महानगरपालिकाका जनस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टले लक्षित वर्गका व्यक्तिलाई आफ्नो पालोमा आएर खोप लगाउन अनुरोध गरेका छन् । लक्षित वर्ग भन्दा बाहेकका व्यक्तिहरूले आई अनावश्यक भीडभाड तथा दबाब नदिन समेत अनुरोध गरेका छन् । विस्तारै सबै वर्गमा खोप सहज हुँदै जाने हुँदा धैर्य हुन पनि उनले सर्वसाधारणमा आग्रह गरेका छन् ।
खोप लगाउन जाँदा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग जस्ता स्वास्थ्यका सम्पूर्ण मापदण्डहरू राम्रोसँग पालना गर्न जनस्वास्थ्य अधिकृत भट्टले सबैलाई अनुरोध गरेका छन् ।
यसअघि चितवनमा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र चिनियाँ खोप भेरोसिल लगाइएको थियो । जोन्सनको यो खोप भने चितवनमा बिहीबार पहिलो पटक लगाइएको हो ।
यसपटक यहि साउन ११ गतेबाट १३ गतेसम्म ३ दिन सञ्चालन भएको चिनियाँ खोप भेरोसिल जिल्लाका २५ हजार ६ सय ६० जनालाई लगाइएको छ ।जिल्लामा यसअघि पनि विभिन्न उमेरसमूह र क्षेत्रका आधारमा कोभिसिल्ड र भेरोसेल खोप लगाइसकिएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।