नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या साढे ७ लाख नाघ्यो, अस्पताल भर्ना हुनेपनि बढे
काठमाडौं, १४ साउन । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ७ लाख ५० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन लागेदेखि नेपालमा कोरोना संक्रमणको दर दैनिक बढ्न थालेको छ । मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा १४ हजार २ सय ४२ कोरोना परीक्षण गर्दा ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ७ लाख ५० हजार २२ पुगेको छ ।
यस्तै नेपालमा पछिल्लो समय कोरोना संक्रमित थपिनेको तुलनामा निको हुने दर घट्ने क्रममा रहेको छ । गत २४ घन्टामा देशभर रहेका संक्रमित मध्ये १ हजार ३ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ ।
यस्तै पछिल्लो समय कोरोना संक्रमणको दर बढेसँगै नेपालमा होम आइसोलेसनमा बस्ने र सक्रिय संक्रमितको संख्या पनि बढेको छ । हाल देशभर ३० हजार ३ सय ९० सक्रिय संक्रमित रहेका छन् । जसमा २७ हजार ३ सय ५५ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
गत २४ घन्टामा देशभर थप १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ ।
यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ६ सय ३६ जना आईसीयूमा भर्ना भएका छन् भने १ सय ६० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।