आर्थिक वर्षमा २ लाख ४२ हजार ४८ यूनिट रगत संकलन
काठमाडौं,१४ साउन । नेपाल रेडक्रस सोसाइटीमा आर्थिक वर्ष २०७७\०७८ मा २ लाख ४२ हजार ४८ यूनिट रगत संकलन भएको छ । त्यस्तै सोसाइटीले ३ लाख ३१ हजार ४ सय ५६ यूनिट रगत तथा रक्ततत्व विरामीलाई उपलब्ध गराएको छ ।
नेपाल रेडक्रस सोसाइटीले नेपालमा रक्तसञ्चार सेवाको ५५ औँ स्थापनाको अवसरमा एक कार्यक्रम गर्दै बार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । अघिल्लो बर्ष देशभरीमा २ लाख ३८ हजार ८ सय ३६ युनिट रगत संकलन भई ३ लाख २१ हजार ७ सय ७६ युनिट रगत र रक्ततत्व वितरण भएको थियो । २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन हुँदाको वर्ष जम्मा १५७ यूनिट रगत संकलन गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले स्वयंसेवी रक्तदाता र रक्तदान गर्ने संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै उनले रक्तसञ्चार सेवालाई दिर्घकालिन विकासको लागि सबै क्षेत्रसँगको हातेमालोमा अगाडि बढ्नु पर्ने बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटीले काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाको अलावा विराटनगर, भरतपुर, पोखरा, नेपालगंज र धनगढी गरी ५ स्थानमा प्रदेश रक्त सञ्चार सेवा संचालन गरीरहेको छ । यसैगरी २२ जिल्लामा जिल्ला स्तरीय, विभिन्न जिल्लाको ४१ स्थानबाट आकस्मिक रक्त सञ्चार सेवा प्रदान गरिएको छ । विभिन्न ४९ वटा अस्पतालबाट पनि रक्त सञ्चार सेवा प्रदान भइआएको छ । नेपालको ७० जिल्लाका ११७ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरू क्रियाशिल छन् ।