नेपालमा १ महिना भित्र कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै विज्ञहरुले दिए चेतावनी
काठमाडौं, १२ साउन । नेपालमा अबको एक महिनामा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै विज्ञहरुले चेतावनी दिएका छन् । मंगलबार कोरोना भाइरस संक्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्व तयारी र खोपको व्यवस्थापन लगायतका समसामयिक विषयमा आयोजित कार्यक्रममा जनस्वास्थ्य विज्ञहरुले यस्तो चेतावनी दिएका हुन् ।
कार्यक्रममा बोल्दै डा. सागरराज भण्डारीले नेपालमा कोरोना भाइरसको परीक्षण सहर केन्द्रित भएको र गाउँ गाउँमा धेरै संक्रमित भइसकेको बताए । अहिले परीक्षणको दायरा घटाएकोले संक्रमितको संख्या घट्दै गएको हो ।
निषेधाज्ञामा पनि स्वास्थ्य मापदण्डको कुनैपनि प्रोटोकल नअपनाएकोले कोरोनाको तेस्रो वेभ पनि आउने डा. भण्डारीले बताए । "नेपालमा १ महिना भित्रमा कोरोनाको तेस्रो वेभ आउनेछ", डा. भण्डारीले भने, स्वास्थ्य मापदण्ड अपनाइएको छैन, कन्ट्याक्ट ट्रेकिङ् भएको छैन, अहिले फैलिरहेको भेरियन्ट धेरै छिटो सर्ने र आक्रमक हुनेछ ।"
त्यस्तै, डाक्टर बासुदेव पाण्डेले नेपालमा कोरोनाले आक्रमक रुप लिने बताएका छन । डा. पाण्डेले अबको विकसित भेरिएन्टले धेरैलाई संक्रमण बनाउने र धेरैको मृत्यु समेत हुन सक्ने भएकोले सबै नागरिकलाई भ्याक्सिन लगाउनुपर्ने र त्यसको लागि स्वदेशमै भ्याक्सिन उत्पादन गर्नुपर्ने बताए ।
"अब नेपालले कोभिड भ्याक्सिन उत्पादन गर्नुपर्छ", डा. पाण्डेले भने, अरु देशले सक्ने हामीले नसक्ने भन्ने हुँदैन, हामीसँग दक्ष वैज्ञानिकहरु छन्, अब हामीले नै भ्याक्सिन उत्पादन गर्नुपर्छ।" डाक्टर पाण्डेले स्वास्थ्य मन्त्रालय जिम्मेवार नभएकोमा दुख व्यक्त गरेका थिए।
त्यस्तै, सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै जानु गलत भएको डा. सुन्दरमणी दिक्षितले टिप्पणी गरेका छन् । व्यङ्ग्यात्मक रूपमा बोल्दै डा. दिक्षितले सरकार निर्देशन दिन च्याम्पियन भएको बताए । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढेकोमा आफू चिन्तित रहेको बताए ।
अब दुई महिना भित्र १४ बर्ष भन्दा माथिका ७५ प्रतिशत नागरिकलाई कोभिड भ्याक्सिन नसके कोरोनाको तेस्रो लहर अवस्था जटिल बन्ने डा. दिक्षितले जानकारी दिए । निषेधाज्ञा खुकुलो बनाउँदा कडाइका साथ खुकुलो बनाउनुपर्ने उनले बताए । भ्याक्सिनको बिषयमा गरिएको गलत प्रचार प्रसार प्रति नलाग्न डा. दिक्षितले अनुरोध गरेका छन् ।
"भ्याक्सिनमा आर्थिक र राजनीतिक चलखेल भएकोले गलत प्रचार बढेको हो जुन खोप लगाउँदा पनि हुन्छ", उनले भने ।
फरक विषयमा बोल्दै डा. दिक्षितले स्वास्थ्य राज्यमन्त्रीको नियुक्ति बाध्यात्मक अवस्थामा गरिएकोले कुनै टिकाटिप्पणी गर्नु आवश्यक नभएकाे बताए । प्रधानमन्त्रीले राजनीतिक किचलोबाट मुक्त हुन बाध्यात्मक अवस्थामा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्ति गर्नुपरेको बताए ।