धनगढीमा ५० शय्याको आइसोलेसन निर्माणको म्याद सकियो तर काम सकिएन



Download our app to get more features

धनगढी, १२ साउन । धनगढीमा निर्माण गर्ने भनिएको ५० शय्याको आइसोलेसन सेन्टरको काम अझै पूरा हुन सकेको छैन । 

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य कार्यालय कैलालीले कोरोना भाइरसका संक्रमितका लागि ५० शय्याको आइसोलेसन भवन निर्माणको काम अगाडि बढाएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा आह्वान गरिएको भवन निर्माणको ठेक्का असार मसान्तमा काम सक्नुपर्ने गरी किनारा कन्सट्रक्सनसँग सम्झौता भएको थियो । तर, एक करोड ४९ लाखको उक्त भवन निर्माणको काम अझै पूरा भएको छैन । 

निर्माण व्यवसायी रोहित रानाले केही काम बाँकी रहेको बताए । उनले २० गतेसम्म भवन निर्माणको काम पूरा हुने बताए । ‘खानेपानीको काम बाँकी छ । २० गते हस्तान्तरण गर्ने भनेका छौ’ उनले भने ।

सेती प्रादेशिक अस्पतालले सञ्चालन गर्दै आएको कोरोना अस्थायी अस्पतालसँगै जोडेर भवन निर्माणको काम जारी छ । उक्त भवनमा सेती प्रादेशिक अस्पतालले नै आइसोलेसन सञ्चालन गर्ने छ । तर, आइसोलेसन भवनको शौचालय, खानेपानी, विद्युत तथा अक्सिजन पाइप जडानको काम अझै पूर्ण भएको छैन । 

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले थ्री फेज विद्युतका लागि निवेदन दिएको बताए । विद्युत र खानेपानीको काम बाहेक सबै काम भएको उनले बताए । 

स्वास्थ्य कार्यालय कैलालीले साउन २० गते सेती प्रादेशिक अस्पताललाई उक्त आइसोलेसन भवन हस्तान्तरण गर्ने लक्ष्य लिएको छ । आइसोलेसन भवनमा अक्सिजन पाइप जडानको काम बाँकी रहेकाले समय लागेको दावी गरिएको छ । 

सेती अस्पतालका मेडिकल सुपरीटेन्डेन डाक्टर हेमराज पाण्डेले सबै भौतिक संरचना निर्माणको काम पूर्ण भएपछि मात्र हस्तान्तरण गर्न भनेको बताए । 

सेती प्रादेशिक अस्पताले ५० शय्याको आइसोलेसनमा कोरोना संक्रमितलाई उपचार गर्दै आएको छ । ५० शय्याको अर्काे आइसोलेसन निर्माणको काम पूरा भए अस्पतालसँग एक सय शय्याको कोरोना अस्थायी अस्पताल हुनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts