वैदेशिक रोजगारमा जानेहरुले उपत्यकाका यी दुई अस्पतालबाट खोप लगाउन पाउने



Download our app to get more features

काठमाडौं, १२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदार र अध्ययनका लागि जाने विद्यार्थीहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन दुई वटा अस्पताल तोकेको छ ।

रेमिट्यान्समार्फत देशको अर्थतन्त्रमा ठूलो योगदान दिने वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने विषयमा सरकार असंवेदनशील भएको गुनासो आइरहेका बेला सरकारले उनीहरुका लागि दुई वटा अस्पताल तोकेको हो ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारमा जाने  कामदार र विद्यार्थीहरुले प्रहरी अस्पताल महाराजगञ्ज र सैनिक अस्पताल छाउनीमा खोप लगाउन सक्ने बताएको छ । खोप लगाउनु अघि पासपोर्ट, श्रम स्वीकृति र भिसा अनिवार्य रुपमा देखाउनुपर्ने मन्त्रालयले स्पष्ट गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले तत्कालका लागि सीमित केन्द्र तोकिए पनि खोप कार्यक्रमलाई पूर्णरुपमा विकेन्द्रित गरेर प्रदेशस्तरबाटै उनीहरुलाई खोप लगाउन सक्ने प्रवन्ध छिट्टै मिलाइने बताए । उनले खोप कार्ड पनि प्रदेशस्तरबाटै पाउने व्यवस्था गरिने बताएका छन् ।

कोरोना भाइरसविरुद्ध आफ्ना नागरिकलाई खोप दिएका देशहरुले बाहिरी मुलुकहरुबाट आफ्नो देशमा प्रवेश गर्नेहरुलाई आफ्नो देशले मान्यता दिएको कोरोनाविरुद्धको खोप अनिवार्य गरेका छन् ।

यसअघि आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच भएको छलफलमा एक महिना भित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा रहेकाहरुलाई जोन्सन एण्ड जोन्सनको खोप र एक महिनापछि वैदेशिक रोजगारीमा जानेले भेरोसेलको खोप लगाउने विषयमा सहमति गरेका थिए । 

Last modified on 2021-07-27 13:06:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts