नेपालमा कोरोनाको तेस्रो लहरको संकेतः दैनिक सङ्क्रमण दर बढ्यो, निको हुनेदर घट्दै
काठमाडौं, ११ साउन । नेपालमा कोरोनाको तेस्रो लहरको संकेत स्वरुप फेरि सङ्क्रमण दर बढ्न थालेको छ ।
सरकारले सार्वजनिक गर्ने दैनिक तथ्याङ्क अनुसार नेपालमा औसत झन्डै ३ हजारका दरले कोरोना सङ्क्रमित थपिँदै आएका छन् ।
गत २४ घन्टामा थप ३ हजार ४ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १२ हजार २ सय ७२ कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म ७ लाख ३८ हजार ९ सय १५ जना कोरोना भाइरसका कारण सङ्क्रमित भएका छन् । जसमा आरटी पिसिआर विधिबाट ६ लाख ८२ हजार ९ सय ४४ र एन्टीजेन विधिबाट ५५ हजार ९ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर १ हजार ६ सय ८६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि निको हुनेको संख्या ५५ हजार ९ सय ७१ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ ।
हाल नेपालभर सक्रिय सङ्क्रमितको संख्या २७ हजार ९ सय ८ रहेको छ । जसमा २५ हजार ९३ जना होम आइसोलेसनमा छन् भने २ हजार ८ सय १५ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाको तेस्रो लहरको संकेत देखिन थालेको भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन र अक्सिजन प्लान्टहरु चुस्तदुरुस्त राख्न निर्देशन दिइसकेको छ ।