दमकमा कोरोना संक्रमण र मृत्युदर बढेसँगै भोलिदेखि निषेधाज्ञा, घरबाट बाहिर निस्कन रोक
दमक, १० साउन । झापाको दमकमा फेरी कोरोना संक्रमण र मृत्यु दर बढेसँगै भोलिदेखि निषेधाज्ञा लागू हुने भएको छ । कोरोनाको दोस्रो लहरमा कोरोना संक्रमणका कारण ३८ जनाको मृत्यु भएको र संक्रमितको संख्या ५ सय नाघे पछि अत्यावश्यकीय सेवा बाहेकका सबै सेवा बन्द हुने गरी निषेधाज्ञा लगाउने सर्वपक्षिय निर्णय भएको छ ।
दमक नगरपालिका कोरोना भाईरस रोकथाम तथा नियन्त्रण पालिकास्तर संरचना समितिको शनिबार बसेको बैठकले भोलि बिहान ४ बजेदेखि लागू हुने गरी १७ गते मध्यराती १२ बजेसम्म नगरपालिका क्षेत्र भित्र निषेधाज्ञा लागु गर्ने निर्णय गरेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।
अस्पतालको आकस्मिक सेवा, औषधि पसल, खोप सेवा, फोहोरमैला संकलन तथा व्यवस्थापन, दुध र अण्डाका पसल बिहान ६ देखि ८ बजेसम्म र एम्बुलेन्स तथा वारुणयन्त्र सेवा जस्ता अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु सञ्चालन नगर्न/नगराउने निर्णय भएको र यसको अवज्ञा गरे कारबाही गरिने नगर प्रमुख ओलीले बताए ।
दमकमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । खाद्यन्न, ग्याँस लगायतका पसलहरु नखुल्ने र कसैलाई अति आवश्यक भएमा वडा कार्यालय, नगरपालिका, नगर प्रहरी, जनपथ प्रहरी तथा अनुगमन समितिसँग समन्वय गरेर उक्त सामान नगरबासीको घरमा पुर्याईने व्यवस्था मिलाईन नगर प्रमुख ओलीले जानकारी दिए । यस्तै अनावश्यक पनि घरबाट बाहिर निस्कन रोक लगाईएको छ ।