अनलाइन फारम नभरेकै कारण खोपबाट वञ्चित नहुने



Download our app to get more features

काठमाडौं, १० साउन ।  सरकारले अनलाइन फारम भर्न नपाएकै कारण कोही व्यक्ति खोप लगाउनबाट वञ्चित नहुने जनाएको छ । अब कोरोना विरुद्धको खोपका लागि अनलाइनमार्फत फारम भर्नु पर्ने नियम बनाएको सरकारले फाराम नभरेकै आधारमा खोपबाट वञ्चित भने हुनु नपर्ने जनाएको हो ।

खोप लगाउने र खोप लगाइसके पछि प्रमाणपत्र लिनेहरुको भीड बढेपछि अहिले अनलाइन दर्ताको व्यवस्था गरिएको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले बताए । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले देशभरको सबै स्वास्थ्य कार्यालयलाई  पत्र पठाउँदै गएको १ गतेदेखि अनलाइन दर्ताको व्यवस्था मिलाउन भनेको हो ।

यो झन्झटिलो प्रक्रिया भएकाले इन्टरनेटको पहुँच नभएका ठाउँका नागरिक खोपबाट वञ्चित हुने हो कि भन्ने आशङ्का बढेको छ ।  तर डाक्टर गौतमले भीड नियन्त्रणका लागि गरिएको यो प्रयासबाट कोही पनि खोप लगाउनबाट नछुट्ने दाबी गरेका छन् । 
 
स्वास्थ्य मन्त्रालयले अहिले ५० वर्षभन्दा माथिका नागरिक र निश्चित वर्ग तथा पेसा छुट्याएर खोप अभियान सञ्चालन गरिरहेको । काठमाण्डौमा भने १८ वर्षभन्दा माथिका नागरिकलाई पनि एक मात्रा लगाए  पुग्ने अमेरिकी खोप दिइएको छ ।

अमेरिकाबाट आएको कोभ्याक्स सुविधाको १५ लाख खोप सुरुमा ५० देखि ५४ वर्षका नागरिक, नेपालमा बसोबास गर्ने शरणार्थी तथा यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिने भनिए पनि खोप बढी भएपछि १८ वर्षभन्दा माथिका अरु नागरिकलाई पनि दिइएको हो ।

यस्तै, ५५ वर्षभन्दा माथिकालाई चिनियाँ भेरोसेल खोप दिइ राखिएको छ । स्वास्थ्य मन्त्रालयले छिट्टै १८ देखि ५० वर्ष उमेर समूहलाई पनि खोप दिने जनाएको छ ।

Last modified on 2021-07-25 13:37:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts