नेपालमा १३ लाख १२ हजार १२ जनाले लगाए कोभिडविरुद्धको पूर्ण खोप

काठमाडौं, ९ साउन । नेपालमा हालसम्म १३ लाख बढीले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन्। कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप गरी १३ लाख १२ हजार १२ जनाले पूर्ण खोप लगाएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
कोभिसिल्ड र भेरोसेल खोप दुई डोज लगाउनु पर्छ भने जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ।
मन्त्रालयका अनुसार ४ लाख ६० हजार ३०८ जनाले कोभिसिल्ड, ६ लाख ९२ हजार ९६९ जनाले भेरोसेल र १ लाख ५८ हजार ७३५ जनाले जोन्सन एण्ड जोन्सन खोपको पूर्ण मात्रा लगाएका छन्।
कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले र भेरोसेलको पहिलो डोज १५ लाख २१ हजार ४६७ जनाले लगाएका छन्। एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप १ लाख ५८ हजार ७३५ जनाले लगाएका छन्।
जोन्सन एण्ड जोन्सन खोप बागमती र गण्डकी प्रदेशमा मात्र लगाइएको छ। बागमतीमा १ लाख ३८ हजार ६३१ जनाले खोप लगाउँदा गण्डकी प्रदेशमा २० हजार १०४ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।