कोरोनाको प्रत्यक्ष प्रभावबाट अछुतो छैन पर्यटन क्षेत्र, झन्डै आधाले घटे पर्यटक 



Download our app to get more features

काठमाडौं, ९ साउन । देशमा कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले नेपाल आउने पर्यटकको संख्या आधाले घटेका छ । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष पर्यटक आगमनमा कमी आएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एवं विदेशी पर्यटक जङ्गल सफारीका लागि घुम्न आउने गर्दछन् । निकुञ्ज कार्यालयले दिएको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा ९२ हजार २ सय  ९ पर्यटकले जङ्गल सफारी गरेका छन् । अघिल्लो आव २०७६र०७७ मा यो सङ्ख्या एक लाख ८२ हजार ४ सय  ३५ रहेको छ ।

निकुञ्जभित्र र बाहिर सामुदायिक वनमा टिकट काटेर पर्यटकीय गतिविधिमा रमाउने पर्यटकको सङ्ख्या निकुञ्जले राख्ने गर्दछ । यसका अतिरिक्त पर्यटकीय गतिविधिमा सहभागी नभई पर्यटकीय क्षेत्रमा घुम्न आउनेको तथ्याङ्क राख्ने गरिएको छैन ।


कार्यालयका अनुसार अघिल्लो आवमा ८९ हजार ४ सय ४१ जना आन्तरिक पर्यटकले निकुञ्ज घुमेका थिए । यस्तै उक्त वर्षमा सार्क राष्ट्रका १४ हजार २ सय ३९ र अन्य मुलुकका ७८ हजार ७ सय ५५ पर्यटकले निकुञ्ज घुमेका थिए तर, गत आवमा ८९ हजार ६ सय १ नेपाली पर्यटकले निकुञ्ज घुमेका थिए भने सार्क राष्ट्रका एक हजार ३ सय ६४ पर्यटक र अन्य मुलुकका एक हजार २ सय ४४ ले निकुञ्ज घुमेको तथ्याङ्क छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले कोरोना सङ्क्रमणका कारण पर्यटक आगमनमा कमी आएको बताए । अघिल्लो वर्ष मुख्य सिजनसम्म पर्यटक आएको भए पनि गत वर्षभर नै प्रभावित बनेकाले पर्यटकको सङ्ख्यामा कमी आएको उनले जानकारी दिए । गत आवमा विदेशी पर्यटक आउन नपाउँदा सङ्ख्या निकै कम भएको हो । 

लकडाउन कारण अघिल्लो वर्ष चैतदेखि साउनसम्म निकुञ्ज प्रवेशमा रोक लगाइएको थियो भने गत वैशाख १६ गतेदेखि पुनः निषेधाज्ञाका कारण हालसम्म पनि निकुञ्ज प्रवेश बन्द भएको छ । केही दिनमा नै प्रवेश खुलाइने बरालले जानकारी दिए । उनका अनुसार वर्षात्को समयमा निकुञ्ज बन्द हुने भए पनि सामुदायिक वनका गतिविधि खोलिने छ ।

निकुञ्जमा पर्यटक घटेपछि आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष निकुञ्ज घुम्ने पर्यटकको शुल्कबाट रु १८ करोड ७३ लाख ८५ हजार ६४ आम्दानी गरेको निकुञ्जले गत आवमा पर्यटक शुल्क आम्दानी घटेर रु दुई करोड ५५ लाख ३७ हजार ८ सय २८ सङ्कलन भएको छ । 

निकुञ्जले अन्य क्षेत्रबाट पनि आम्दानी गर्ने गरेको छ । ती क्षेत्रबाट अघिल्लो आवमा रु एक करोड १८ लाख ७० हजार ६ सय १७ राजस्व सङ्कलन गरेको थियो भने गत आवमा यी क्षेत्रको आम्दानी केही बढेको छ । ती क्षेत्रबाट रु एक करोड ८८ लाख २४ हजार ३ सय ३८ आम्दानी भएको जनाएको छ । निकुञ्जमा हुने आम्दानीको ५० प्रतिशतसम्म रकम मध्यवर्ती क्षेत्रमा खर्च गर्ने गरी सरकारले फिर्ता पठाउने गर्दछ । आम्दानी घटेसँगै यसको प्रत्यक्ष प्रभाव मध्यवर्ती क्षेत्रमा पर्दछ ।

निकुञ्ज र जनताबीचको द्वन्द्व घटाउन मध्यवर्तीको अवधारणा ल्याएर यहाँ सङ्कलित राजश्वको ५० प्रतिशतसम्म रकम मध्यवर्ती क्षेत्रमा खर्च गर्ने गरिएको हो । निकुञ्जमा मुख्यरुपमा हात्तीमा चढेर दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ, घडियाल गोही, चरालगायत हेर्न पर्यटक आउने गर्दछन् । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले भूकम्प, नाकाबन्दी, नारायणगढ मुग्लिन सडकको समस्याजस्ता समय समयमा आउने बाधा व्यवधानले खस्किएको यहाँको पर्यटन क्षेत्र कोरोनाबाट थप प्रभावित बनेको बताए ।
 

Last modified on 2021-07-24 14:24:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts