सत्यतथ्य कुरा नबुझि अपुर्ण र भ्रमपुर्ण समाचार सम्प्रेषण नगर्न/नगराउन सरकारको आग्रह
काठमाडौं, ९ साउन । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले भ्रमपूर्ण समाचार सार्वजनिक नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै सत्यतथ्य कुरा नबुझि अपुर्ण र भ्रमपुर्ण समाचार सम्प्रेषण नगर्न नगराउन अनुरोध गरेको हो ।
विभिन्न मित्रराष्ट्रहरुले गरेको आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धमा आएका भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले विभिन्न अनलाइन र पत्र पत्रिकामा यस मन्त्रालय र आवद्ध संघ संगठनहरुलाई समेटेर प्रकाशित गरिएको समाचार बुझेर मात्रै लेख्न भनेको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठन लगायत विभिन्न मित्रराष्ट्रहरुको आर्थिक तथा प्राविधिक सहयोगमा विभिन्न परियोजनाहरु सञ्चालित रहेको र विभिन्न मित्रराष्ट्रहरुबीच सरकारी तहमा द्विपक्षीय वा बहुपक्षीय समझदारीबाट मन्त्रालयलाई प्राविधिक सहयोग गर्न खटिएका निकायहरुलाई अन्याथा व्याख्या र वर्गिकरण गर्नु अनुपयुक्त रहेको सूचनामा उल्लेख गरिएको छ ।
मन्त्रालयले कतिपय समाचारहरुमा मन्त्रालयका प्रवक्ताले भनेको भनि उल्लेख भएकोमा सो समेत सत्य नरहेको हुँदा त्यस्तो गलत तरिकाले समाचार प्रकाशन तथा प्रशारण नगर्न पनि भनेको छ ।