कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै अस्तपाललाई तयारी अवस्थामा रहन निर्देशन
२४ घन्टामा थपिएको २७ सय १४ नयाँ सङ्क्रमित

काठमाडौं, ७ साउन । नेपालमा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ हजार ८ सय २९ कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर ९ हजार १ सय २२ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ८ सय ५५ र ३ हजार ७ सय ७ एन्टीजेन परीक्षण गर्दा ८ सय ५९ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ६ लाख ७४ हजार ७ सय २६ र एन्टीजेन विधिबाट ५२ हजार ४ सय ४३ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ७ लाख २७ हजार १ सय ६९ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर १ हजार २ सय ८८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ६ लाख ३७ हजार ६ सय ९० पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप २४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यसैबीच, मन्त्रालयले मुलुकमा कोरोना महामारीको तेस्रो चरणको लहरको संकेत देखिएको भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मन्त्रालयले सूचना जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरुको चहलपहल बढेको र जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना नगर्दा कोरोनाको तेस्रो लहर सुरु हुन सक्ने भएकाले अस्पतालका बेडहरु र अक्सिजको अवस्थालाई चुस्तदुरुस्त बनाउन भनेको हो ।
मन्त्रालयले साउन लागेयता नेपालमा फेरि कोरोना सङ्क्रमणको दर बढ्न थालेको भन्दै कुल कोरोना परीक्षणमा २० देखि २५ प्रतिशतमा कोरोना देखिन थालेको बताएको छ ।
एक साता अघि ९ जिल्लामा मात्रै ५ सय सक्रिय सङ्क्रमित रहेकोमा त्यो संख्या १२ जिल्लामा पुगेको बताएको छ ।