संक्रमित बढेसँगै झापाको बुद्धशान्ति गाउँपालिका सिल



Download our app to get more features

 दमक, ५ साउन । कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ। पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो।

पालिकाका अध्यक्ष रमेश भुजेलले पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र मानिसको आवतजावतसमेत पूर्णरूपमा बन्द गरिने बताए। अत्यावश्यक सेवा भने सञ्चालन गरिने उनको भनाइ छ। 

मेची राजमार्गमा आवतजावत हुने सवारी साधनलाई भने रोक नलगाइएको उनले बताए। वडाहरुमा गरिने एन्टिजेन परीक्षणबाट दैनिक ३५ देखि ४० जनासम्ममा पोजेटिभ देखिएपछि बाध्य भएर पालिका बन्द गर्नुपरेको उनको भनाइ छ।

पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि तथा स्थानीय प्रशासनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। 

पालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले दोस्रो लहरको कोभिड–१९ को भेरियन्टमा मात्र १४ जनाको मृत्यु भइसकेको बताए। 
रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts