तीन वर्षदेखि रिक्त स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस
को-को छन् सिफारिस हुनेमा ?
काठमाडौं, ४ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
सोमबार बिहान सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो ।
बढुवा समितिले बाह्रौँ तहमा बढुवा हुँदाको क्रमलाई हेरेर डा. पोखरेल, डा. सिंह र श्रेष्ठको नाम क्रमशः पहिलो दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो ।
समितिको सिफारिसपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य समूहको सचिवको टुंगो लगाउने अनुमान गरिएको छ ।
तत्कालिन स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको पालामा स्वास्थ्य समूहको सचिवको दरबन्दी हटाइएको थियो । त्यसयताको झण्डै साढे तीन वर्ष स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूह भन्दा बाहिरका सचिवले काम गरेका थिए ।
प्रतिस्पर्धामा रहेका तीन जनामध्ये श्रेष्ठको कार्यकाल अब दुई साता मात्रै बाँकी छ । उनी आगामी १७ साउनमा अवकाश हुँदैछन् । डा. पोखरेल र डा सिंहको कार्यकाल भने तीन वर्षभन्दा बढी छ ।