जोन्सन एन्ड जोन्सनको खोप अनिवार्य गरिएका मुलुकमा जानेलाई सोही खोप दिइने
ललितपुर, ४ साउन । जोन्सन एन्ड जोन्सनको कोरोना खोप अनिवार्य गरिएका मुलुकमा जानेलाई सोही खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले यहाँका स्थानीय तहलाई निर्देशन दिँदै जोन्सन एन्ड जोन्सनको खोप अनिवार्य गरिएका मुलुक जानेलाई सोही खोपको व्यवस्था गर्ने भएको हो ।
सोमबार ललितपुरका स्थानीय तहलाई स्वास्थ्य कार्यालयले पत्र लेख्दै कोरोना महामारी नियन्त्रणका लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।
स्वास्थ्य कार्यालयले जोन्सन एन्ड जोन्सनको खोप अनिवार्य गरिएका मुलुक जानेलाई सोही खोप दिन, खोप केन्द्रहरू थप गरी खोप अभियान सञ्चालन गर्न तथा शरणार्थीका लागि छुट्टै खोप केन्द्र व्यवस्था गर्न स्थानीय तहलाई आग्रह गरेको हो ।
जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोना खोप सोमबार (आज) बाट लगाइँदैछ । अमेरिकाले कोभ्याक्समार्फत् उपलब्ध गराएको १५ लाख ३४ हजार ८५० मात्रा खोप प्रयोग गर्न लागिएको हो ।
जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा लगाए पुग्ने बताइएको छ ।