आजबाट काठमाडौंमा जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै, प्रधानमन्त्रीले खोप केन्द्रको निरिक्षण गर्दै
काठमाडौ, ४ साउन । सरकारले आजबाट जोन्सन एण्ड जोन्सनको खोप सर्वसाधारणलाई लगाउँदै छ ।
कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त अमेरिकाको जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ज्यान्सिन आजबाट काठमाडौं जिल्लामा लगाइने छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा गत मंगलबार बसेको कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट आजदेखि ज्यान्सिन खोप लगाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आजबाट काठमाडौंमा खोप लगाउन थालिएको हो ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका खोप केन्द्रको निरीक्षण गर्ने कार्यतालिका समेत रहेको छ ।
आइतबार स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै प्रधानमन्त्री देउवाको खोप केन्द्र निरिक्षणको कार्यक्रम सार्वजनिक गरेको थियो ।
प्रधानमन्त्री देउवाले आज बिहान १० बजेदेखि विभिन्न खोप केन्द्रको निरिक्षण गर्ने छन् ।
अमेरिकाबाट गत सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप नेपाल आइपुगेको हो ।
मन्त्रालयका अनुसार, एक डोज मात्र लगाए पुग्ने यो खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने छ ।
यस्तै, मन्त्रालयले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ ।
काठमाडौं उपत्यकामा खोपका लागि ३१ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।