नेपालमै क्यान्सर रोगको औषधि उत्पादन सुरु 



Download our app to get more features

काठमाडौं,  ३ साउन । नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो ।
आइतबार  टिजिगले आफ्नो तथा आफूले उत्पादन गरेका ‘एन्टी क्यान्सर’ सम्वन्धी औषधिहरुको समेत अनावरण गरेको छ । 

टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले क्यान्सर रोगबिरुद्धको औषधि उत्पादन गर्ने आफ्नो कम्पनी नेपालकै पहिलो भएको बताए ।  उनले औषधि व्यवस्था विभागसंग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरु भईसकेको भन्दै एक महिना भित्र केही औषधि व्यवसायिक रुपमा बजारमा पुग्ने जानकारी दिए । 

उनले अत्याधुनिक प्रविधिमा बनाइएको आफ्नो फेक्ट्री डव्लुएचओको जीएमपी स्टान्र्डड र औषधि उत्पादन संहिता २०७३ अनुरुप बनाइएको र  नेपालकै नमूना फेक्ट्री भएको समेत दावी गरे ।  ‘क्यान्सर रोगको औषधिले गर्दा हुने टक्सीसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाँउमा अन्य औषधि उत्पादन गर्न मिल्दैन । अर्को कुरा हाम्रो फेक्ट्रीमा नविनतम र अत्याधुनिक प्रविधि जडान भएका छन्,’ उनले भने ।

टिजिगले अहिले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ । त्यसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन् । यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक बैद्यले बताए ।   

एन्टीक्यान्सर औषधिको मूल्यको सन्दर्भमा गरिएको एक प्रश्नमा कार्यकारी निर्देशक बैद्यले टिजिगले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताए ।  ‘हामीकहाँ भारत र तेस्रो मुलुकबाट क्यान्सर रोगका औषधि आउने गर्दछन् । जसमा औषधिको गुणस्तरीयता, प्रभावकारिता र सुरक्षालाई कायम गर्न उच्चतम प्राथमिकतामा राख्दै नेपाली जनमानसलाई सुलभ मूल्यमा उत्पादन गराउने छौं,कार्यकारी निर्देशक बैद्यले बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts