जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप सुरक्षित, भ्रमको पछि नलाग्न आग्रह



Download our app to get more features

काठमाडौं, ३ साउन । सरकारले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप सुरक्षित रहेको भन्दै भ्रमको पछि नलाग्न आग्रह गरेको छ ।

विभिन्न सञ्चार माध्यमहरुमा अमेरिकाको जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ज्यान्सिनले मानिसहरुमा विभिन्न स्वास्थ्य समस्या उत्पन्न गराउने भन्दै समाचार प्रकाशन गरेपछि सरकारले त्यस्ता गलत भ्रम नफैलाउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले हाम्रो डक्टर न्यूजसँग कुराकानी गर्दै विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोप सुरक्षित रहेको हुँदा अनावश्यक भ्रम नफैलाउन आग्रह गरे ।

उनले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको साइड इफेक्ट फेला परेको हालसम्म कुनैपनि वैज्ञानिक आधार पुष्टि नभएको बताए ।

उनले खोप लगाउँदा कसैलाई रिएक्सन देखिने हुन सक्छ भने कसैलाई नदेखिने पनि हुन सक्ने भन्दै खोप लगाउँदा देखिने सामान्य साइड इफेक्टलाई गलत प्रचारप्रसार गर्नु उचित नरहेको पनि प्रष्ट पारे ।

उनले अमेरिकामा मात्रै ज्यान्सिन १ करोडभन्दा बढीले लगाएकोमा अस्पताल नै भर्ना हुने बिरामीको संख्या सयमा एक जना हुनु स्वभाविक रहेको र मृत्यु हुने बिरामीको संख्या शून्य रहेकोले डराउनुपर्ने अवस्था नरहेको पनि बताए ।

उनले खोपको कारणले देखिने सामान्य समस्यालाई सामान्य रुपमा नै लिनुपर्ने भन्दै खोप उपलब्ध भएको ठाउँमा आफ्नो पालो आएपछि गएर निर्धक्कसँग खोप लगाउन पनि आग्रह गरे ।

अमेरिकाको जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको १५ लाख खोपको डोज कोभ्याक्समार्फत् नेपाल आएको छ । सरकारले अब पालो अनुसार ज्यान्सिन खोप लगाउन सुरु गर्नेछ ।

Last modified on 2021-07-18 10:47:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts