काठमाडौंमा झण्डै डेढ लाखले लगाए भेरोसेलको पहिलो मात्रा
काठमाडौं, २ साउन । कोभिडविरुद्धको खोप लगाउने पछिल्लो अभियान अन्तर्गत काठमाडौं जिल्लामा १ लाख ४८ हजार ३३४ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् । उनीहरुले गत २९ असार देखि १ साउनसम्मको ४ दिने अवधीमा खोप लगाएका हुन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार शुक्रबार मात्रै ३२ हजार २५५ जनाले खोप लगाएका छन् ।
त्यसो त मौज्दात खोप अभाव भएको भन्दै स्वास्थ्य कार्यालयले शुक्रबार दिउसोबाट नै अभियान स्थगित गरेको थियो । कार्यालयका अनुसार ३१ असारमा ५८ हजार ६२० जना, ३० असारमा ४३ हजार ३३४ जना र २९ असारमा १३ हजार ६६३ जनाले खोप लगाएका थिए ।
पछिल्ला दिनमा जिल्लाले ५० वटा खोप केन्द्र सञ्चालनमा ल्याएको थियो । यसपटक ५५ बर्ष माथिका सबै नागरिक, शिक्षक, प्राध्यापक, कर्मचारी, सवारी चालक, सहचालक लगायतका पेशामा आवद्धलाई खोपको प्राथमिकतामा राखिएको थियो ।
स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ५७ हजार ४०० डोज खोप उपलव्ध गराएको थियो । खड्काले खोप केन्द्रको केही रिपोर्ट आउन बाँकी रहेको समेत जानकारी दिए ।