सिएमसीको अर्को सफलता, ‘पीभीटी’ भएको बिरामीमा नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण
चितवन, ३१ असार । भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) ले दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ ।
कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार जाजरकोटको कुशे गाउँपालिका-९ की ४८ वर्षीया कमलादेवी शाहीले ४७ वर्षीय आफ्नो श्रीमान भरतविक्रम शाहीलाई कलेजो दिएकी हुन् । विशेषज्ञ चिकित्सक सहितको टोलीले १२ घण्टा भन्दा लामो समय लगाएर यहि असार १८ गते कलेजोको सफल प्रत्यारोपण गरिएको देवकोटाले बताए ।
अस्पतालका अनुसार भरतविक्रमको कलेजोमा रगत जानै नसक्ने गरी रगत बग्ने नली बन्द भएको थियो । चिकित्सा विज्ञानमा यस्तो अवस्थालाई सिरोसिस विथ पोर्टल भेन थ्रोम्बोसिस (पिभिटि) भन्ने गरिन्छ । ‘पीभीटी’ भएका बिरामीको नेपालमै पहिलो पटक प्रत्यारोपण गरिएको अस्पतालको दाबी छ । यसलाई एक जटिल अवस्थाको उपचार मानिन्छ ।
अस्पतालका अनुसार श्रीमान भरतविक्रम अहिले स्वास्थ्यलाभको क्रममा उपचाररत छन् । श्रीमानलाई कलेजो दान गरेकी श्रीमती कमलादेवी भने यहि असार २७ गते अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।
यसअघि यस अस्पतालले राजधानी बाहिर पहिलोपटक विशेषज्ञ चिकित्सक सहितको टोलीले गतचैत ८ गते कलेजोको पहिलो पटक सफल प्रत्यारोपण गरेको थियो । भरतपुर महानगरपालिका–१० घर भई काठमाडौं बस्दै आएकी ५४ वर्षीय धनकुमारी लामालाई उनकी ३४ वर्षीया छोरी उषाको कलेजो प्रत्यारोपण गरिएको थियो ।
यसैबिच, यसअघि सिएमसीले आफ्नो सेवा विस्तार गरी मेडिकल क्षेत्रमा अत्याधुनिक तथा अति विशिष्ट मानिने न्युक्लियर मेडिसिन सेवा गतपुस महिनादेखि नै सञ्चालनमा ल्याएको छ । त्यसका लागि अत्याधुनिक उपकरण सिंगल फोटोन इमिसन कम्प्युटेड टोमोग्राफी तथा अन्य आवश्यक उपकरणहरु ल्याइएको छ ।
यसले पुरै शरीरको स्क्यान गर्दछ । शरीरको कुन अङ्गले कत्तिको काम गरेको छ भन्ने परीक्षण गर्दछ । साथै आवश्यकता अनुसार उपचार समेत गर्ने गरिन्छ । यस उपचार विधि मार्फत थाइराइड, फोक्सो, मुटु, मस्तिष्क, हड्डी, मिर्गौला, कलेजो लगाएत प्रायः सबै अंगको परीक्षण तथा उपचार सम्भव रहेको अस्पतालका न्युक्लियर मेडिसिन विभागका प्रमुख डा. जीवन पौडेलले जानकारी दिए ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।