आजदेखि तीन प्रदेशमा ५५ वर्षभन्दा माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइँदै
काठमाडौं, २९ असार । सरकारले आजदेखि तीन प्रदेशमा ५५ वर्षभन्दा माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि पहिलो मात्रा खोप लगाइने भएको हो ।
सरकारले चीनबाट खरिद गरेको ४० लाखमध्ये पहिलो चरणमा ८ लाख खोप ल्याएको थियो । उक्त खोप तीन प्रदेशका ५५ वर्षमाथिका नागरिक, सार्वजनिक यातायातका चालक र सहचालक, विश्वविद्यालय र विद्यालयका शिक्षक÷कर्मचारीलाई खोप दिन लागिएको हो ।
सरकारले यस वर्ष सार्वजनिक यातायातका चालक, सह चालक लगायतलाई पनि खोप लगाउने बताएको छ । यस्तै विदेश जानेहरूलाई पनि खोप लगाइने स्वास्थ्य विभागका खोप शाखा प्रमुख डा. झलक गौतमले बताए ।
सरकारले खरिद गरेकामध्ये साउन १ मा आउने खोप भने १, २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लगाउने योजना रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म ३६ लाख ५३ हजार १ सय ७३ जनाले खोप लगाइसकेका छन् ।
यसमध्ये १० लाख ४१ हजार ३ सय ६६ जना अर्थात् ३ दशमलव ५ प्रतिशतले दोस्रो मात्रा पनि लगाइसकेका छन् । पहिलो मात्रा लगाउने कुल जनसंख्याको ८ दशमलव ८ प्रतिशतले खोप लगाइसकेका छन् ।
भेरोसेल दुई डोज लगाउनुपर्ने हुन्छ भने जोन्सन एन्ड जोन्सन खोप खोप एक डोज मात्रै लगाए पुग्छ । अर्को चरणमा ५० देखि ५४ वर्ष उमेर समूहकालाई उक्त खोप लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । तर, यो खोप लगाउने मिति भने तय भइसकेको छैन ।
त्यस्तै, पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिक, नेपालमा बसोबास गरिरहेका सम्पूर्ण शरणार्थीहरू, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मीहरू (यसअघिका अभियानमा छुटेका) लाई जोन्सन एन्ड जोन्सनको खोप दिइनेछ । खोप लिनका लागि सरकारले जारी गरेको प्रमाणपत्र देखाउनुपर्ने हुन्छ । ५५ वर्षदेखिका नागरिकले नागरिकता वा अन्य कुनै परिचय खुल्ने कागजातका देखाउनुपर्छ ।
सार्वजनिक यातायातका चालक, सहचालकहरूको हकमा आधिकारिक परिचय पत्र र सवारी साधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण पेस गर्नुपर्ने हुन्छ । यस्ता विवरण प्रमुख जिल्ला अधिकारीले प्रमाणित गर्नुपर्ने हुन्छ । विश्वविद्यालय र विद्यालयका शिक्षक तथा कर्मचारीहरूको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्र पेस गर्नुपर्ने हुन्छ ।