एक डोज मात्रै लगाउँदा हुने जोनसनको खोप काठमाडौं आइपुग्यो
काठमाडौं, २८ असार । अमेरिकाले उपलब्ध गराएको जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा आज नेपाल आएको छ । जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार ८५० डोज जेनसेन खोप कतार एयरबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले हस्तान्तरण गरेका हुन ।
यो खोप एक मात्रा मात्रै लगाउँदा पुग्छ । जोन्सनको ‘जेन्सेन एडी २६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । जेन्सेन खोप ०।५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।
यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । अहिले नेपालमा कोभिशिल्ड र भेरोसिल खोपको प्रयोग भइरहेको छ । यसअघि चीनबाट खरिद गरिएको ८ लाख मात्रा भेरोसेल खोप आइसकेको छ । चीनबाटै थप आठ लाख खोप आउँदो शुक्रवारसम्म ल्याउने तयारी छ । चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट आउँदै गरेको जोनसोन खोप के कसरी वितरण गर्ने भनेर सरकारले निर्णय गरिसकेको छैन ।
नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।