गर्मी मौसममा तपाईंको छालामा समस्या देखियो ? यी उपाय अपनाउनुहोस्
गर्मी मौसममा मानिसलाई विभिन्न सवास्थ्य समस्या देखिने गर्छ । हुन त अहिले कोरोना महामारीका कारण प्रायः सबैजना घरमै बसिरहँदा बाहिरको धूलोधुवाँबाट र घामको किरणबाट जोगिनु भएको छ होला । तर, बाहिर काम विशेषले निस्कने र घरमै बसिरहेको बेला पनि छालामा समस्या निम्तिन सक्छ ।
गर्मीका कारण छालामा रातो डाबरहरु आउने, छाला चिलाउने, छाला रातो हुने जस्ता समस्याहरु देखिन सक्छ ।
टन्टलापुर घाम, चर्को गर्मी र धुलोधुँवाले हैरान नभएको को होला र ? जसले गर्दा गर्मी सुरु भएसँगै छालामा समस्या देखिने क्रम पनि बढेको छ । गर्मीले विशेषगरी अनुहारको छालालाई डढाउने र मेकअप बगाउने हुँदा महिलाहरुले घर बाहिर निस्कँदा छाताको प्रयोग गर्ने गरेका छन् ।
तापक्रम बढ्दै जाँदा सूर्यबाट निस्कने पराबैजनी किरणले छालालाई असर गरिरहेको हुन्छ । त्यस्तै पसीना धेरै आउने र धुलो धुँवाका कारण पनि छालामा समस्या देखिने गर्छ । पसिना धेरै आउने र उपत्यकाको धुलो धुँवाले धेरैलाई छालामा समस्या हुने गरेको छ ।
गर्मी मौसममा छालामा विविध समस्या देखा पर्छ । चर्को गर्मी र धुलोधुँवाले छालामा हुने समस्याहरु निम्न छन् ः
एलर्जी
गर्मी मौसममा सबै भन्दा धेरै देखिने समस्या घामको एलर्जी हो । अत्याधिक गर्मीका कारण शरीरमा रातो डाबर बिबिरा आउने, चिलाउने लगायत लक्षण देखिन्छन् । यस्तो समस्या लामो समयसम्म सिधै घाममा बस्दा वा घाममा बसेर काम गर्दा आउने गर्दछ । बिशेषगरी अनुहार, हात तथा घाँटीमा यस्तो समस्या देखिन्छ ।
फंगल इन्फेक्सन
शरीरमा पसीना धेरै आएर गुम्सिने हुदा फंगल इन्फेसन(ढुसी), गर्मी मौसममा धेरै देखिने समस्या हो । यस्तो समस्या काखीमा बढि देखिनुको साथै धेरैलाई काछ लाग्ने समस्या हुन्छ । फंगल इन्फेक्सनका कारण चिलाउने र घाउ हुने सम्भावना धेरै रहन्छ ।
डन्डिफोर
गर्मी मौसममा धेरै देखिने समस्या मध्ये डन्डिफोर पनि एक हो । गर्मीका कारण अत्याधिक पसिना आउनुको साथै अनुहारमा चिल्लोपना बढ्ने हुन्छ । पसिना र चिल्लो छालामा धुलोधुँवा टासिएर डन्डिफोर आउने सम्भावना धेरै रहन्छ । दिनमा २÷३ पटक मुख धोएमा अनुहारमा आउने डन्डिफोरलाई कम गर्न सकिन्छ ।
चाया, पोतो
गर्मीको समयमा पसिना धेरै आउदा अनुहारमा पोतो आउने सम्भावना धेरै रहन्छ । साथै गर्मीमा कपालको चायाले अनुहारमा सेतो, फुर्सो भएर चिलाउने हुन्छ ।
छाला डढ्ने समस्या
चर्को घाम लागेको समयमा घर बाहिर निस्कदा वा चर्को घाममा काम गर्दा छाला डढ्ने समस्या देखा पर्छ । यस्तो समयमा छाला चिलाउने, सुख्खा हुने हुन्छ । छाला सुख्खा भएर धेरै चिलाउदा कहिले काहीँ घाँउ समेत हुन सक्छ ।
बच्ने उपाय :
गर्मीको मौसममा छालामा देखिने समस्याबाट जोगिन शरीरको सरसफाईमा ध्यान दिनुपर्छ । यस्तो अवस्थामा बिहान बेलुका नुहाउने तथा पसीना सोस्ने सुतीको कपडा लगाउने गर्नु पर्छ ।
घर बाहिर निस्कँदा ‘सनब्लक’ र माक्सको प्रयोग गर्ने, शरीर पुरै छोप्ने गरी पातलो कपडाको प्रयोग गर्नु राम्रो हुन्छ । गर्मीले गर्दा एलर्जी वा फंगल इनफेक्सन भएमा समस्या पत्ता लगाएर उपचार गर्नुपर्छ । शरीरमा रातो डावर आएमा यसलाई सामान्य रुपमा लिनु हुँदैन । इन्फेक्सनका कारण यस्तो समस्या आउने हुदाँ एक पटक छाला रोग विशेषज्ञसँग जाँच गर्नु उत्तम मानिन्छ ।
सनबल्कको प्रयोगका बिषयमा मानिसहरुमा गलत धारणा रहेको पाईन्छ । घाममा निस्कँदा मात्र प्रयोग गर्नु भन्दा निश्चित समय अन्तरालमा प्रयोग गरेमा धेरै फाइदाजनक हुन्छ ।