भेरोसेलको दोस्रो मात्रा दुई लाख ७७ हजार बढीले लगाए
काठमाडौं, २७ असार । कोरोनाविरुद्धको भेरोसेलको दोस्रो मात्रा खोप शुक्रबारसम्म २ लाख ७७ हजार १०६ जनाले लगाएका छन्।
परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमका अनुसार पाँच दिनको अवधिमा देशभरका ३ हजार ८९७ वटा खोप केन्द्रबाट २ लाख ७७ हजार १०६ जना व्यक्तिले दोस्रो मात्रा अर्थात पूर्ण खोप लगाएका हुन् ।
डा. गौतमले पहिलो दिन असार २२ गते एक लाख ३ हजार ६९४, असार २३ गते ८५ हजार ५१३, असार २४ गते ३४ हजार ८६२ हजार, असार २५ गते ३७ हजार ४२९ र २६ गते १४ हजार १८८ जनाले कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका बताए ।
गत २५ जेठ देखि पहिलो डोज खोप लगाएका र त्यसभन्दा अघि नै पहिलो डोज लिएर दोस्रो लगाउन छुटेकाहरुलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप दिन सुरु गरिएको थियो।
जेठ २५ गते उपत्यकाका ६० देखि ६५ र उपत्यकाबाहिर ६४देखि ६५ वर्ष उमेरसमुहका ४ लाख ६० हजार व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा खोप लगाइएको थियो।
स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा भेरोसेल खोप लगाएर समय पुगी दोस्रो मात्रा लगाउन छुटेका र २५ गते लगाएका समेत गरी करिब ५ लाख व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा खोप लगाउने जनाएको छ।
स्वास्थ्य मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार हालसम्म २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र १० लाख १ हजार ७५९ जनाले दोस्रो मात्रा अथार्त कोरोना विरुद्धको खोप पाएका छन्।