जोन्सन एण्ड जोन्सनको खोप कोभ्याक्समार्फत् भोलि नेपाल आइपुग्ने
काठमाडौं, २७ असार । कोभ्याक्समार्फत् अमेरिकाले दिने कोरोनाविरुद्धको खोप भोलि नेपाल आइपुग्ने भएको छ ।
अमेरिकाले कोभ्याक्स अन्तर्गतको कोरोनाविरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आजै नेपालका लागि प्रस्थान गर्ने र भोलि बिहान नेपाल पुग्ने बताइएको छ ।
जोन्सन एण्ड जोन्सनका अनुसार उक्त खोप एक मात्रा लगाएपछि पुग्नेछ ।
अमेरिकी सरकारले जी–७ को बैठकले पारित गरेको खोपसम्बन्धी निर्णयलाई कार्यान्वयन गर्दै विश्वव्यापीरूपमा खोप वितरणलाई उच्च प्राथमिकतामा राखिने बताएको छ ।
नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ । तर, खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन् ।
नेपालले खोपको आयात गर्न र भण्डारण गर्न पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि अझ बढी समय लाग्न सक्ने जानकारहरुको भनाइ छ ।