बीएण्डसीको अनुगमन टोलीमा नबस्ने डा.अधिकारीको घोषणा
काठमाडौं, २६ असार । प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको अनुगमन टोलीमा रहेका डा. भोजराज अधिकारी टोलीबाट बाहिरिएका छन् । । उनले आफ्नो नाम जोडिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचारहरु आएकाले नैतिकताका आधारमा आफु अनुगमन टोलीमा संलग्न नहुने जानकारी चिकित्सा शिक्षा आयोगलाई गराएकाहुन् ।
आयोगलाई पत्र लेखी डा.अधिकारीले अनुगमनमा आफ्नो कुनै पनि इन्ट्रेस्ट नहुँदा नहुँदै आफ्नो नाम जोडिएकाले उक्त टोलीबाट भए गरेका कामको प्रतिवेदन आफुले बुझाउन नसक्ने बताएका छन् । बीएण्डसीको अनुगमन गर्न आयोगले एक समिति बनाएको थियो । अनुगमन गरेको १५ दिन बितिसक्दा पनि प्रतिवेदन बुझाउन नसक्दा बीएण्डसीको सम्वन्धन प्रक्रिया अलपत्र परेपछि अस्पतालका सञ्चालक दुर्गा पर्साइले प्रधानमन्त्री स्वंयमलाई सम्बन्धन दिन या बन्द गर्न आग्रह गरेका थिए ।
आयोगका उपाध्यक्ष प्राडा.श्रीकृष्ण गिरि र बीएण्डसीका सञ्चालक प्रसाईबीचको विवादमा अदालतमा डा.अधिकारी साक्षी बसेको थाहा पाएपछि ‘कनफ्लिक्ट अफ इन्ट्रेस्ट’ हुन सक्ने भन्दै अनुगमन टोलीका संयोजक डा.प्रकाशराज पाण्डेले आयोगको कार्यकारी समिति बैठकमा प्रतिवेदन बुझाउन मानेका थिएनन् । डा.अधिकारीले प्राडा.गिरि र प्रसाईबीच आफ्नो कुनै लिनुदिनु नरहेको कुरा आयोगलाई पठाएको भएको पत्रमा उल्लेख गरेकाछन् ।