निषेधाज्ञा खुकुलोसँगै कोरोना संक्रमणको दर फेरि बढ्दै, सतर्क रहन सरकारको आग्रह



Download our app to get more features

काठमाडौं, २६ असार । नेपालमा कोरोनाको जोखिमलाई ध्यानमा राखी जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाको जोखिम बढ्न थालेको छ ।

चैतको अन्तिम हप्तामा कोरोनाको दोस्रो चरणको लहर सुरु भएपछि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । तर, हाल आएर कोरोनाको जोखिम कम हुँदै गएको भन्दै निषेधाज्ञा खुकुलो बन्दै जाँदा जोखिम फेरि बढ्न थालेको देखिन्छ ।

चितवनमा जारी निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर र सक्रिय संक्रमित पनि बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै पाल्पामा पनि कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी जारी गरिएको निषेधाज्ञा खुकुलो बन्दै गएपछि संक्रमण दर फेरि उच्च हुन थालेको पाल्पा स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाल्पा र चितवन मात्रै होइन काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा हाल कम्तिमा पनि एक सयदेखि २ सयसम्म र बढीमा ५ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले बुधवार नियमित कोरोनासम्बन्धी जानकारी दिने क्रममा नेपालमा फेरि कोरोना संक्रमणको दर बढेको भन्दै सचेत गराएका थिए ।

उनले दैनिक संक्रमण दर २५ प्रतिशतभन्दा तल झरेकोमा यो साता कोरोना संक्रमण दर बढेको बताए । 

डा. पौडेलका अनुसार मुलुकमा कोरोनाको दोस्रो लहरका कारण देशका विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै मानिसको भिडभाड बढेको र बजारमा चहलपहलपनि बढेको हुँदा संक्रमण दर बढेको छ । 

हाल नेपालका कुनैपनि जिल्लामा शून्य संक्रमित नरहेको भन्दै उनले सर्वसाधारणको जनजीवन सामान्य बनाउनका लागि निषेधाज्ञा खुकुलो बनाइएपनि जोखिम अझै कायमै रहेको बताए ।

डा.पौडेलले निषेधाज्ञा हट्नुको अर्थ कोरोना शून्यमा झरेको हो भन्ने बुझ्नु गलत रहेको हुनाले सकभर अनावश्यक बजार जाने, हिँडडुल गर्ने जस्ता क्रियाकलाप नगर्न आग्रह गरे ।

Last modified on 2021-07-10 11:05:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts