खेलाडीको उपचारका लागि राखेप र ट्रमा सेन्टरबीच सम्झौता
काठमाडौं, २५ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र ट्रमा सेन्टरबीच खेलाडीको उपचारका लागि सम्झौता भएको छ । नेपाल खेलकुद महासङ्घको पहलमा राखेप र ट्रमा सेन्टरबीच खेलाडीको उपचार सम्झौता भएको हो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्तोष पौडेलले आज शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार खेलाडीका लागि इमर्जेन्सी सेवासहित, रक्तसञ्चार, शल्यक्रिया, अर्थोपेडिक तथा हाडजोर्नी, फिजियोथेरापीलगायत ट्रमा सेन्टरबाट उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।
सेन्टरमा उपलब्ध नभएका सेवा तथा औषधि, औषधिजन्य सामग्री र शल्यक्रियाजन्य सामग्री तत्कालका लागि बिरामी स्वयंले व्यवस्था गर्ने र सेन्टरको सिफारिसका आधारमा राखेपसँग सोधभर्नाका लागि भुक्तानीको पेस गर्न सक्ने सम्झौतामा उल्लेख छ ।
राखेपका सदस्य सचिव सिलवालले सम्झौता सम्भव गर्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै खेलाडीलाई उपचार सुविधा प्रदान गर्न सहमत भएकोमा सेन्टरलाई धन्यवाद दिए । डा. पौडेलले देशका लागि योगदान गर्ने खेलाडीलाई विशेष महत्त्व दिनुपर्छ भन्ने मान्यताका साथ सम्झौता गरेको बताए ।