चितवनमा कोरोनाका कारण १ दशमलव ७ प्रतिशतको मृत्यु, संक्रमणदर उकालो लाग्दै
चितवन, २५ असार । चितवनमा अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमित मध्ये १ दशमलव ७ प्रतिशतको मृत्यु भएको छ ।
शुक्रवार दिउँसोसम्म जिल्लाभर कुल १७ हजार २ सय ६ जना संक्रमित भएका मध्ये २ सय ९१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यो मृत्युदर १ दशमलव ७ प्रतिशत हुन आउँछ ।
मृत्यु हुनेमा कुन उमेर समूहका कति ?
जिल्लाभर कोरोना संक्रमणबाट मृत्यु हुनेमा ६१ देखि ७० वर्ष उमेर समूहका सबैभन्दा बढी ६९ जना छन् भने १० वर्ष मुनिका उमेर समूहका सबैभन्दा कम १ जना रहेको छ ।
त्यस्तै, मृत्यु हुनेमा ११ देखि २० वर्ष उमेर समूहका ४ जना, २१ देखि ३० वर्ष उमेर समूहका ५ जना, ३१ देखि ४० वर्ष उमेर समूहका २७ जना, ४१ देखि ५० वर्ष उमेर समूहका २९ जना, ५१ देखि ६० वर्ष उमेर समूहका ६४ जना रहेका छन् ।
त्यसैगरी, मृत्यु हुनेमा ७१ देखि ८० वर्ष उमेर समूहका ४७ जना र ८० वर्ष देखि माथि उमेर समूहका ४५ जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमणदर फेरि उकालो लाग्दै
जिल्लामा निषेधाज्ञा खुकुलो हुँदै गर्दा कोरोनाका सक्रिय संक्रमितको संख्या दुई सातायता फेरि निरन्तर उकालो लाग्दै छ । तथ्याङ्क अनुसार सक्रिय संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो क्रममा देखिन्छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार दुई साताअघि सक्रिय संक्रमितको संख्या १ हजार नजिक पुगेको थियो । त्यसयता क्रमशः वृद्धि हुँदै आज शुक्रवार यो संख्या १ हजार ३ सय ७८ पुगेको छ ।
कुन स्थानीय तहमा कति छन् सक्रिय संक्रमित ?
जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा ८ सय २८ जना छन् ।
त्यस्तै, अन्य स्थानीय तहमा खैरहनी नगरपालिकामा १ सय ६, कालिका नगरपालिकामा ७४, राप्ती नगरपालिकामा ७६, माडी नगरपालिकामा १ सय २७, रत्ननगर नगरपालिकामा १ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामनामा भने सक्रिय संक्रमित १५ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सक्रिय संक्रमित मध्ये १ हजार २ सय ४४ जना होम आइसोलेसन, १ सय ५ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् भने २९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कुल संक्रमितको संख्या १७ हजार नाघ्यो
शुक्रवार दिउँसोसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या १७ हजार २ सय ६ पुगेको छ । संक्रमित हुनेमा ९ हजार ५ सय ६२ जना पुरूष र ७ हजार ६ सय ३८ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म १५ हजार ५ सय ३८ जना निको भइसकेका छन् ।
लकडाउन खुकुलो हुँदा जोखिम बढ्न सक्ने
जिल्लामा जनजीवन सहज बनाउन भन्दै लकडाउन खुकुलो बनाउदैं लगिएको छ । तर, संक्रमणदर भने निरन्तर उकालो लाग्दै छ । यसले झन् जोखिम बढ्न सक्ने भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई उनीहरूले अनुरोध गरेका छन् ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।