बागलुङमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौै, २५ असार । जिल्लामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो । योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
बागलुङ नगरपालिका–३ का ५५ वर्षीया महिलाको धौलागिरी अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले बताए । ती महिलाको पित्त थैलीमा समेत समस्या थियो । कोरोना संक्रमणभइ गत असार १९ गते अस्पतालको सघन उपचार कक्षा भर्ना गरिएका उनको शुक्रबार बिहान १ बजे निधन भएको घिमिरेले जानकारी दिए ।
यस्तै, बिहीबार राति अक्सिजन कमि भइ अस्पताल भर्ना गरिएका बागलुङ नगरपालिका–२ का ७७ वर्षीय पुरुषको अस्पतालमा भर्ना गरेको केही समयमै मृत्यु भएको हो । उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । मृत्यु भएका पुरुषमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो । जिल्लामा अहिले पनि २ सय ४५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।